काठमाडौं-४ बाट उम्मेदवारी दिने समाजसेवी पाण्डेको घोषणा

भाषण मिठो गरेरमात्र हुँदैन, जनताको समस्या बुझ्न सक्नुपर्छः पाण्डे

काठमाडौं । श्यामप्रसाद पाण्डेले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लड्ने घोषणा गरेका छन् ।

विगत लामोसमयदेखि नेपाली राजनीतिसँग नजिक रहेर समाजसेवीको भूमिका निर्वाह गर्दै आएका पाण्डेले पछिल्ला दिनमा काठमाडौंको क्षेत्र नं. ४ का मतदाताले भोगेको समस्यालाई मध्यनजर गर्दै उक्त क्षेत्रमा उम्मेदवारी दिने बताएका हुन् ।

वाकपटुताले भरिपूर्ण कांग्रेस महामन्त्री गगन थापाको क्षेत्रका मतदाताले अपेक्षित रुपमा विकास पाउन नसकेको तीतो यथार्थ रहेको उल्लेख गर्दै पाण्डेले नेताले भाषणमा मिठो बोलेरमात्र हुँदैन मतदाताको टोल, घरसमेत गएर उनीहरुको समस्या समाधानका लागि जोड दिनुपर्ने बताए ।

राजधानीकै केन्द्र मानिएको उक्त क्षेत्रअन्तर्गत पर्ने कपनबासीले हरेक वर्ष डुबानबाट भोग्नुपरेको समस्यालाई स्थायी समाधान गर्नेतर्फ अहिलेसम्म कुनै पनि राजनीतिक दलका साथै यहिँबाट निर्वाचित जनप्रतिनिधिले ध्यान नदिएको बताउँदै पाण्डेले आफूले पीडित जनताकै बलमा उम्मेदवारी दिन लागेको बताए । विगत कोरोना महामारी र अन्य समयमा आफूले गरेको कर्मलाई काठमाडौं–४ का मतदाताले मत दिएर समाजको हितका लागि अझै काम गर्ने प्रेरणासमेत दिनेछन् भन्ने विश्वास लिएको पाण्डेले बताएका छन् ।

पाल्पामा जन्मिएर लामोसमयदेखि व्यापार व्यावसायमा संलग्न पाण्डे समाजसेवीका रुपमा परिचित छन् ।

विशेष गरी शैक्षिक क्षेत्रमा पाण्डेले गरेको योगदानलाई रुपन्देही, नवलपुरबासीहरुले सम्झिने गरेका छन् । त्यस्तै कोरोना महामारीका बेला पाण्डेले दुःख र समस्यामा परेका सयौंलाई खाद्यान्नका साथै अन्य अत्यावश्यकीय सहयोग गरेका थिए ।

पछिल्लो समय काठमाडौंलाई केन्द्रबिन्दु बनाएर व्यावसाय र समाजसेवामा अघि बढीरहेका पाण्डे हाल काठमाडौं–४ निर्वाचन क्षेत्र अन्तर्गत बुढानीलकण्ठ बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *