

रहेनन् ड्युटीमै बेहोस् भएका प्रहरी सहायक हवल्दार निराैला

संखुवासभा । संखुवासभाको प्रहरी चौकी मंगलबारेमा कार्यरत एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।
ड्युटी गर्दागर्दै अचानक बेहोस भएका प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको निधन भएको हो।
मादी नगरपालिका-२ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको बसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो ।
तर उनलाई स्वास्थ्य चौकीले शनिबार साँझ मृत घोषणा गरेको थियो । शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासी लडेर बेहोस भएका थिए ।
उनको शव धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा आज पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
पोष्टमार्टमपछि उनको शव परिवारलाई बुझाईने प्रहरीले जनाएको छ ।