मुसहरहरुसँग मेयर महेशः आगामी वर्ष २ सय मुसहर परिवारलाई नयाँ घर !

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले आफ्नो विकास योजना लगायत अन्य समसमायिक विषयमा नगरपालिकाका मुसहर समुदायका अगुवासँग छलफल गरेका छन् ।

उक्त अवसरमा २४ वटै वडाबाट २५० भन्दा बढी मुसहर समुदायका अगुवाहरुलाई छलफलका लागि बोलाईएको थियो । अगुवाहरुले आफ्नो समुदायको समस्या मेयर चौधरी सामु पोखेका थिए ।

चुनावमा प्रतिबद्धता गरे अनुसार मुसहर समुदायका लागि काम अगाडि बढाएको मेयर चौधरीले जनाए ।

वडा १५, १२, र १९ मा ६० घर परिवार मुसहर समुदायलाई बासको लागि घर निर्माण, नागरिकता, जन्मदर्ता, विवाहदर्ता, मृत्युुदर्ता, बसाइँ सराई सिफारिस निःशुल्क, गर्भवती महिलालाई पोषण वितरण, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन, दलित वस्तीमा निःशुल्क टयुशन सेन्टर सञ्चालनलगायत दर्जनौं योजना निर्वाचित हुने वितिकै लागू गरेको मेयर चौधरीले जानकारी गराए ।

यो वर्ष वडा १३, २१ र २२ गरि ६० जना मुसहर समुदायको घर निर्माण गरि हस्तान्तरण गरिने उनले बताए ।

दलित छात्रवृत्तिका लागि २० लाख बजेट विनियोजन भएको छ । उच्च शिक्षा हासिल गर्न ईच्छुक दलित, गरिब, विद्यार्थीलाई उक्त छात्रवृत्ति हस्तान्तरण गरिने जनाएको छ ।

आउने आर्थिक वर्ष ०८१/०८२ मा २ सय घर बनाएर हस्तान्तरण गरिने मेयर चौधरीले जानकारी गराएका छन् । छलफलमा सहभागी मुसहर समुदायका अगुवाहरुलाई मेयर महेश चौधरीले कम्बल ओढाएर सम्मान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *