

डिआईजी चन्दले किन दिए राजीनामा ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डिआईजी) अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् ।
सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिए।
उनले भने , ‘मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।’
चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो ।
जागिरका लागि अझै १४ महिना समयावधि बाँकी रहेका चन्दले पछिल्लो समय विमानस्थलमा अध्यागमन कर्मचारीले प्रहरीमाथि गरेको व्यवहारका कारण राजीनामा दिएको हुन सक्ने आंकलन पनि एकथरिहरुले गरेका छन् ।
उक्त घटनामा कर्मचारीको व्यवहारका कारण आम जनमानसले कर्मचारीलाई दोषी देखाए पनि छानबिन समितिले चार प्रहरी कर्मचारीलाई कारबाहीको सिफारिस गरेसँगै चन्दले राजीनामा दिएको हुनसक्ने पनि जनाइएको छ ।