

संकटमा एआईजी ज्ञवाली, एक साताभित्र छानबिन गरी प्रतिवेदन बुझाउन राज्य समितिको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात छानबिन गरी पेस गर्न संसदीय समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
जन्ममिति ढाँटेर प्रहरी सेवा प्रवेश गरेको भन्दै उजुरी परेपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो । शुक्रबार गृह मन्त्रालयलाई पत्र लेखी एआईजी ज्ञवालीको कागजातमाथि छानबिन गर्न निर्देशन दिएको समितिले जनाएको छ ।
नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको भन्दै ज्ञवालीविरुद्ध २०७९ फागुन १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । प्रारम्भिक छानबिनपछि अख्तियारले प्रमाण खुलेमा कानुनबमोजिम हुने गरी उजुरी तामेलीमा पठाएको थियो ।
नागरिकतामा ज्ञवालीको उमेर २०२४ चैत २१ र प्रहरीको सिटरोलमा २०२५ भदौ २६ उल्लेख छ । ज्ञवाली हाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख हुन् ।