धनगढी बजारमा आगलागी, अस्पतालसहित ८ पसलमा क्षति



धनगढी । धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ ।

धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको जानकारी दिए ।

स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको बताउँदै एसपी पालले धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोलीसमेत परिचालन गरिएको थियो ।

आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।