

लहानका तीन वडा कार्यालय एउटै भवनमा

लहान । मुलुककै सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकाका तीन वटा वडा कार्यालयहरु एउटै भवनमा रहने गरि सञ्चालनमा ल्याइएको छ ।
लहान नगरपालिकाको स्वामित्वमा रहेको लहानको मुख्य बजार मानिएको लहानको तरकारीबजारस्थित सिन्ग्राही मटीयार्वा सपिङ्ग कम्प्लेक्समा वडा नं. १, २ र ३ का वडा कार्यालयहरुको मेयर महेश चौधरीले बुधबार उद्घाटन गरेका छन् ।
लामोसमयदेखि अव्यवस्थित रुपमा सञ्चालन हुँँदै आएका वडा कार्यालयहरु सुविधा सम्पन्न भवनबाट सञ्चालन गर्न लागिएको जनाउँदै मेयर चौधरीले यसले सेवाग्राहीहरुले सरल र सहज रुपमा सेवा पाउने विश्वास समेत लिएका थिए ।
उक्त कम्प्लेक्स लहानबजारको केन्द्रमा नै रहेको जनाउँदै तीनवटै वडाका जनताहरुले सहज रुपमा सेवा पाउने विश्वास पनि उक्त अवसरमा लिइएको थियो ।
उक्त अवसरमा सम्बन्धित वडाका जनप्रतिनिधिका साथै स्थानीय र नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।