

जल्दै गरेको शब बगायो लिखुले, मलामीहरु भागेर बाँचे !

ओखलढुंगा । लिखु तेस्रो जलविद्युत आयोजनाले बिना सूचना ड्याम खोल्दा जलाउँदै गरेको शव बगाएको छ । शव जलाउँदै गरेको अवस्थामा एक्कासी नदीमा पानीको बहाव आउँदा जलाउँदै गरेको शव बगाएको हो ।
कार्तिक १४ गते लिखु गाउँपालिका–६, गाम्नाङका षणकृष्ण भट्टराईको निधन भएपछि अन्तिम संस्कारको लागि साँझ डुँडेखोला दोभान, तितेखानीमा लगिएको थियो । शव जलाउँदै गरेको बेला एक्कासी लिखु नदीमा पानीको बहाब आउँदा मलामीहरुले भागेर ज्यान बचाए भने जल्दै गरेको शव लिखुले बगाएको छ ।
लिखु तेस्रो जलविद्युत आयोजनाले बिना सूचना ड्याम खोल्दा यस्तो घटना भएको जानकारी मलामी गएका प्रत्यक्षदर्शी राधाकृष्ण भट्टराई र महेश भट्टराईले जानकारी दिए । घटना उक्त जलविद्युत आयोजनाको गम्भिर लापरबाहीको कारण हुन पुगेको कुरा लिखु सरोकार समाजका सदस्य एवम् लिखु–८, निबासी स्थानीय लोकहरि तिमल्सिनाले बताए ।
उक्त जलविद्युत आयोजनाको गम्भीर लापरबाहीकै कारण यसअघि पनि दुई जनाको ज्यान गइसकेको छ । दाहसंस्कारको लागि शब जलिरहेको र मलामीहरु जम्मा भएको मौकामा यसरी बिना सूचना ड्याम खोल्नु आयोजनाको नियतमाथि नै शंका उठेको छ । यसतर्फ सम्बन्धित निकायहरु (स्थानीय तथा प्रदेश), सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै लिखु सरोकार समाज यस्ता गतिविधिको घोर भत्र्सना गर्दछ ।
उक्त जलविद्युत आयोजनाको कारण सिंचाईको समयमा खोला खण्डहर बनेका र संघसंस्थाहरुले आवाज उठाएको समयमा पानी छोड्ने गरेको देखिन्छ । गत वर्ष पोकली दोभानमा शब जलाएपछि चिता पखाल्ने पानीसमेत नभएको समाचारले स्थानीयहरु आक्रोशित बनेको थिए ।