मेयर चौधरीको पहलमा लहानका लागि शहरी विकास मन्त्रालयबाट पर्यो यी ८ योजना



लहान । लहानको विकासका लागि मेयर महेश चौधरीले कुनै कसर बाँकी राखेका छैनन् । २४ वटा वडा रहेको लहान नगरपालिकाको विकासका लागि मेयर चौधरीले स्थानीयहरुको जीवनोस्तर उकास्ने देखि लिएर विभिन्न काम गर्दै आएका छन् ।

कृषि, महिला र गरिबीका रेखा मुनि रहेका स्थानीयको जीवनस्तर उकास्ने प्रमुख लक्ष्यसहित अगाडि बढेका मेयर चौधरीले समग्र लहानको पूर्वाधार विकासमा पनि जोड दिएका छन् ।

त्यसको ज्वलन्त उदाहरणका रुपमा संसदमा पास हुँदै गरेको बजेटमा आगामी वर्षका लागि शहरी विकास मन्त्रालयअन्तर्गत विभिन्न आयोजनाहरुमा बजेट विनियोजन गराउन सफल भएका छन् ।

आगामी आव ०८०/८१ का लागि मेयर चौधरीको पहलमा शहरी विकास मन्त्रालयले विभिन्न योजनाहरु समेटेको छ । जसमा सघन सहरी विकास कार्यक्रमअन्तर्गत लहान नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्य पारेका छन् । त्यस्तै लहान नगरपालिका वडा नं. ४ मा असहाय भवन निर्माणका लागि पनि बजेट विनियोजन भएको छ ।

त्यस्तै वडा नं. १५ को बानो र वडा नं. १८ को बडरबोनामा झोलुंगेपुलको लागि पनि बजेट विनियोजन भएको छ । त्यस्तै सिराहादेखि सुखीपुर सडक स्तरोन्नतीका लागि पनि बजेट विनियोजन परेको छ । त्यस्तै लहानमा हाट बजार निर्माणका लागि सम्भाव्यता अध्ययन गरी डिपीआर तयार गर्नका लागि पनि बजेट विनियोजन गराउन सफल भएका छन् ।

त्यस्तै लहान नगरपालिकाको खुट्टी खोलामा वडा नं. ५ स्थित मलहन्वा सरैखोला र वडा नं. १५ मा भुतनी (मुतनी) खोलामा झोलुंगेपुलका लागि पनि बजेट विनियोजन भएको छ ।