अस्पतालको शैय्याबाट असई श्रेष्ठको याचना, मृगौला प्रत्यारोपण गर्न लाग्ने २० लाख जोहोका लागि परिवारजनले मागे सहयोग



काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिका ६, घैरुङका मृगौला पीडित विकास श्रेष्ठलाई आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ । उनी नेपाल प्रहरीका सहायक निरीक्षक (असई) हुन् ।

केही समयअगाडि दुवै मृगौला फेल भएका ३० वर्षीय श्रेष्ठले निरन्तर रुपमा डायालिसस गर्दै आइरहेका छन् । निम्न परिवारका श्रेष्ठको महिनामा चारपटक डायालिसस गर्नुपर्ने परिवारले बताएको छ ।

तर, डायालिससभन्दा पनि समयमै मृगौला प्रत्यारोपण गर्नुपर्ने सुझाव डाक्टरले दिएपछि परिवार प्रत्यारोपणको तयारीमा जुटेको छ । त्यसो गर्न धेरै नै रकम लाग्ने भएपछि उपचारमा समस्या आएको उनका भान्जा आशिष श्रेष्ठ बताउँछन् ।

आउँदो असारमा किष्ट अस्पतालमा प्रत्यारोपणको तयारी भइरहेको समेत उनले जानकारी दिए । ‘अलि अलि भएको सम्पत्ति सुरुमा डायालिसस गर्दैमा सकियो,’ उनले भने, ‘अब उपचारको लागि सहयोगबिना सम्भव छैन । त्यसैले मामाको उपचारको लागि सम्पूर्णलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’

तीन महिना पहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा स्वास्थ्य जाँच गर्ने क्रममा दुवै मृगौला फेल भएका डाक्टरले बताएपछि नेपाल प्रहरी अस्पतालमा उपचार गराइरहेका पीडित श्रेष्ठको उपचारमा करिब २० लाख लाग्ने बताइएको छ ।

तर, उक्त रकम पीडितको परिवारसँग नभएको कारण सहयोगको अपेक्षा गरिएको हो । उनको परिवार अहिले आर्थिक समस्याका कारण उपचारमा उल्झन आउने अवस्था आएकोले निकै चिन्तित छ ।

विकासलाई सहयोग गर्न चाहानेले राष्ट्रिय वाणिज्य बैंकको १३१०१००००१९६६१०४ खातामा सहयोग रकम जम्मा गर्न सकिने छ । यो विकासको भान्जा आशिष श्रेष्ठको खाता हो । त्यस्तै उनलाई सहयोग गर्न ९८५६०९०५८५ मा सम्पर्क पनि गर्न सकिनेछ ।

त्यस्तै पीडित विकासकै प्राइम कमर्सियल बैंकको ०१९००३१७C६ खातामा समेत सहयोग गर्न सकिन्छ ।