

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सिटीइभिटीका ३ कर्मचारी
खोलाको धार नै परिवर्तन गरेर खोज्ने तयारीमा सशस्त्र गोताखोर

काठमाडौं । सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका सिटिइभिटीका ३ जना कर्मचारी अझै फेला परेका छैनन्। ३ दिनसम्म खोजी गर्दा पनि बेपत्ताहरू र गाडी फेला नपरेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले खोजी कार्य जारी रहेको बताए । गत शुक्रबार सुनकोशीमा सिटिइभिटीको गाडी र त्यसमा सवार ३ जना खसेका थिए। गाडीका चालकलाई भने गत शुक्रबार नै उद्धार गरिएको थियो।
सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा गोताखोरसहित ३ वटा स्काभेटर परिचालन गरेर बेपत्ताहरूको खोजी भइरहेको छ। ‘नदीको धार परिवर्तन गर्न तीन स्काभेटर प्रयोग गरिएको छ। ७ जना गोताखोरको टोली परिचालन गरी खोजी भइरहेको छ,ʼ दाहालले भने, ‘गाडी खसेको २ किलोमिटर आसपासमा खोजीसक्यौं, भेटिएको छैन।’
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ४० जनाको टोली परिचालन गरी खोजी कार्यलाई निरन्तरता दिइएको छ। घटनास्थलमा चालकको मोबाइल भने फेला परेको छ।