एउटा वडाध्यक्ष भरतकृष्ण, जो दैलो-दैलोमा पुगेर जनताको सेवा गर्छ

सामाजिक सुरक्षा भत्ता लिनका लागि आफ्नै निजी गाडीमा घरदेखि बैंकसम्म ल्याउने लैजाने गर्छन् भरत



तनहुँ । स्थानीय निर्वाचन भएको एक वर्ष पुगेको छ । मुलुकका सबै स्थानीय तहहरुमा आगामी ५ वर्षका लागि नयाँ जनप्रतिनिधिले जिम्मेवारी लिएको वर्ष दिन पूरा भएको छ ।

ती मध्ये केही औंलामा गन्न सकिने जनप्रतिनिधिहरुले जनताको मन जितेको आभाष पाइएको छ । गत वैशाखमा सम्पन्न सदियौंदेखि जिम्मेवारी लिएर मुलुक हाँक्दै आएका दलहरुका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवारहरुले बाजी मारेर उदाहरणीय काम गरेको प्रशस्तै सुन्न पाइन्छ । नेपालका स्थानीय तहमध्ये महानगरमा संघीय राजधानी काठमाडौंका मेयर बालेन शाहले राजधानी बासिको मन जितेका छन् भने धरानका हर्क साम्पाङले धरानबासीको मात्र नभई देशबासीकै मन जित्न सफल भएका छन् । बालेन र हर्ककै शैलीमा तनहुँको रिसिङ गाउँपालिका वडा नं. ८ मा पनि स्वतन्त्र उम्मेदवारले बाजी मारे स्थानीय निर्वाचनमा ।

May be an image of 1 person

राजनीतिक परिवारमा हुर्किएर समाजसेवामा विगत लामोसमयदेखि लागेका भरतकृष्ण श्रेष्ठले वडा नं. ८ को वडाध्यक्षमा स्वतन्त्रमा उम्मेदवारी दिए । लामोसमयदेखि समाजसेवामा लागेको हुनाले उनी वडा नं. ८ का जनताको विश्वास जित्दै आगामी ५ वर्षका लागि वडाध्यक्षमा निर्वाचित भए ।

निर्वाचन सम्पन्न भएको एक वर्ष बित्दै गर्दा उनै भरत अहिले बालेन र हर्क साम्पाङकै शैलीमा जनताको सेवाका लागि खटिएका छन् । वडा नं. ८ का जनताको सेवालाई सधैं पहिलो प्राथमिकतामा राख्ने भरतले पछिल्लो समय आफ्नो वडामात्र नभई गाउँपालिकाका अन्य वडाका ज्येष्ठ नागरिकहरुको पनि मत जित्न सफल भए ।

May be an image of 1 person, smiling and car

सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म जानुपर्ने ज्येष्ठ नागरिकको बाध्यतामा भरत सारथी बनेर काम गरेका छन् । कमाउनका लागि राजनीतिक गरिरहेकाहरुको भीडमा भरत फरक देखिएका छन् । उनले गाउँपालिका र वडाको विकासका लागि व्यक्तिगत रुपमै खट्दै आएका छन् ।

यसै मेसोमा उनले आफ्ना वडाका सबै ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म लाने र ल्याउने व्यवस्था गरेका छन्, त्यो पनि स्वयं आफ्नै निजी सवारीसाधनमा त्यो पनि आफैं गाडी चलाएर । निर्वाचन प्रचारप्रसारका क्रममा वडाका हरेक घर दैलोमा पुगेका भरतले आफू नै खटिएर ज्येष्ठ नागरिकहरुलाई सेवा दिएको बताए ।

उनले वडाभित्रका पल्ट्याङ, झिरुबास, धारुङ, गोर्दीलगायतका ज्येष्ठ नागरिकलाई घरबाटै लिएर बैंकसँगको समन्वयमा घरसम्मै आफैंले लाने लैजाने गरेका थिए । त्यसका साथै अन्य वडाका जनप्रतिनिधिहरुसँगको समन्वयमा उनले अन्य वडाका ज्येष्ठ नागरिकहरुलाई पनि उक्त सेवा दिएका थिए । उनले त्यस क्रममा वडा नं. ५ का स्थानीयलाई पनि सेवा दिएका थिए ।

उनले डडीबनकी दुवै खुट्टा नभएकी ज्येष्ठ नागरिकलाई पनि सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म लगेर घरसम्मै पुर्याइदिएका थिए ।

उनले गरेको सेवाबाट ज्येष्ठ नागरिकहरु भाव विह्वल बनेका थिए । लामोसमयदेखि गाउँपालिका र जिल्ला सम्हालिरहेका व्यक्तिहरुको गाउँ भए पनि अपेक्षाकृत रुपमा विकास हुन नसकेको रिसिङका दुर्गम स्थानहरुबाट यति सजिलैसँग बैंकसम्म पुगेर भत्ता लिन पाएकोमा स्थानीयहरु दंग परेका छन् ।