लहानमा नगरपालिका र सहकारीको संयुक्त पहलमा पाँचतारे होटल बनाऔंः मेयर चौधरी



लहान – लहान नगरपालिकाका मेयर महेश चौधरीले लहान नगरभित्र एउटा ठूलो परियोजनाको परिकल्पना गरेका छन् । सहकारी दिवसको अवसरमा मेयर चौधरीले लहानमा पाँचतारे स्तरको होटल निर्माणका लागि लहानमा रहेका सहकारीलाई आह्वान गरे ।

सहकारीको दिगोपनाः स्वनियम र सुशासनको नारासहित ६६ औं सहकारी दिवसका अवसरमा लहान नगरपालिकाको सहकारी शाखाद्वारा आयोजित विशेष कार्यक्रममा मेयर चौधरीले सहकारी भनेको हाम्रो कल्पनाको सुरुवात भएको बताए ।

उनले लहानमा अत्यन्त आवश्यक रहेको पाँचतारे होटलका लागि सहकारीसँग सहकार्य गर्न लहान नगरपालिका तयार रहेको समेत बताए ।

उनले नेपालको आर्थिक विकासको सुरुवात सहकारीका माध्यमबाट मात्रै हुने दाबी गरे । उनले जबसम्म सहकारी सबल र सक्षम हुँदैन तबसम्म आर्थिक रुपमा मुलुक सबल हुन नसक्ने बताए ।

सहकारीले स्थानीय जनता एवं विपन्न तहका नागरिकहरुलाई रोजगारका साथै सेवा प्रदान गरेको उल्लेख गर्दै उनले मुलुकको आर्थिक, सामाजिक उन्नतीका लागि सहकार्यको भूमिका अपरिहार्य रहेको बताए ।

उनले लहानमा सहकारी र लहान नगरपालिकाको संयुक्त पहलमा एउटा ठूलो आयोजनाको परिकल्पना गर्न समेत आह्वान गरे । उनले विभिन्न सिपमूलक तालिमलगायत अन्य कार्य पनि सहकारीमार्फत् गर्न उनले अनुरोध गरे ।