असई वाग्ले र हवल्दार दाहाल बने ‘कोशी मन्थ अफ दि पुलिस’ !



धनकुटा । धनकुटाको साँगुरीगढीमा ठुलो परिमाणमा गाँजा पक्राउ गरेका प्रहरी सहायक निरीक्षक भोलानाथ वाग्ले र मोरङको कटहरिमा भएको हत्याको घटनामा आरोपीहरूलाई पक्राउ गरेका हवल्दार यादवप्रसाद दाहाल फागुन महिनाको सर्वोकृष्ट प्रहरी घोषित भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी सहायक निरीक्षक वाग्ले र छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल विराटनगरका प्रहरी हवल्दार दाहाललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

प्रहरी सहायक निरीक्षक भोलानाथ वाग्लेले गस्तीको क्रममा धनकुटाको साँगुरीगढी–६ बाट अवैध लागुऔषध गाँजा ७० किलोग्राम र साँगुरीगढी–८ सडक खण्डमा को १ ज १८११ नम्बरको पिकअपबाट १०६ किलोग्राम अवैध लागु औषध गाँजा बरामद गरेका थिए ।

त्यस्तै हवल्दार दाहालले मोरङको बुढीगंगा गाउँपालिका—२ का नरसिंह चौधरीको ग्वालीमा २८ वर्षीय प्रियङ्का सोनारलाई हत्या गरी बोरामा हालेर लुकाएको घटनामा संलग्न ४ जनालाई पक्राउ गरेका थिए ।

दाहालले कटहरी गाउँपालिका-५ का ६२ वर्षीय रमानन्द राय कोशी अस्पतालमा एम्बुलेन्स खोज्दै आएको बेला सोधपुछ गर्दा हत्याको उक्त घटना पत्ता लगाएका हुन् ।

यसैगरी सुनसरीको बर्जू गाउँपालिका कि ३७ वर्षीय चन्द्रकलादेवी राय मोटर बाइकबाट खसेर घाइते भएको भनी श्रीमान् शैलेन्द्र रायले उपचारार्थ कोशी अस्पताल ल्याएका थिए । चन्द्रकलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

उक्त घटना सम्बन्धमा सोधपुछ गर्दा श्रीमान् शैलेन्द्रले नै कुटपिट गरी मृत्यु भएको खुलेपछि निजलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएका थिए ।

प्रहरीद्वयको कार्यले नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने प्रशंसनीय कार्य गरेको हुँदा उनीहरूले सम्पादन गरेको कार्यको उच्च मुल्यांकन गर्दै २०७९ साल फागुन ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।