सुनुवार सेवा समाजमा अमृतबहादुर
काठमाडौ । सुनुवार सेवा समाज (सुसेस)को १०औँ राष्ट्रिय अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको छ । अमृतबहादुर सुनुवारको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
काठमाडौस्थित सुनुवार सेवा समाजको भवनमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्ष एसा सुनुवार, शोभा सुनुवार, चम्पक सुनुवार, केदारराज सुनुवार (दोलखा) तथा विदेश विभाग उपाध्यक्षमा शिव सुनुवार निर्विरोध निर्वाचित भएका छन् ।
भेलाले महासचिवमा उत्तमकुमार सुनुवारलाई जिम्मेवारी सुम्पिएको छ । सुनुवार सुसेसका निवर्तमान सचिव हुन् । सचिवमा रमेशकुमार सुनुवार र महिला सचिवमा देबु सुनुवार (रामेछाप) निर्वाचित भएका छन् भने कोषाध्यक्षमा ज्योति सुनुवार र सह–कोषाध्यक्षमा लुकमाया सुनुवार चयन भएका छन् ।
यहि फागुन २७ र २८ मा भएको सम्मेलन संस्कृति, पर्यटन तथा नागरिक उड्ययान मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा भएको थियो । उदघाटन सत्रमा विभिन्न जातिय संघसंस्थालगायत स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलबाट विजयी सुनुवार प्रदेश सांसद, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष तथा वडाध्यक्षलाई सम्मान गरिएको थियो ।