पीएनजीविरूद्ध टस जितेर नेपालले रोज्यो बलिङ, गुल्सनको ठाउँमा करण भित्रिए

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । टस जितेको नेपालले पीएनजीलाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ ।

पीएनजीविरुद्ध नेपाली टोलीमा एक परिवर्तन भएको छ ।

आईतबारको खेलमा टिममा रहेका गुलशन झा बाहिरिदा करण केसी टिममा रहेका छन् ।

विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ।

पीएनजीलाई यही सिरिज अन्तर्गतको पहिलो खेलमा पराजित गरेको नेपाल आजको खेलमा समेत सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

घरेलु मैदानमा ८ एकदिवसीय अन्तराष्ट्रियमा अपराजित नेपाल आफनो नवौं खेललाई समेत स्मरणिय बनाउन चाहन्छ ।

नेपालले विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपालले सात देश सम्मिलित विश्वकप लिग टूमा ३४ खेलमा १७ मा जित तथा १५ मा हार व्यहोरेको छ । नेपाल ३६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

पीएनजीले ३४ खेलमा ५ मा जित २८ मा हार व्यहोरेको छ । पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

नेपालको प्लेईङ-११

आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,भिम सार्की, रोहित पौडेल (कप्तान),आरिफ शेख,दीपेन्द्र सिंह ऐरी,करण केसी,कुशल मल्ल,सोमपाल कामी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *