टप एन्ड टी–२०ः अस्ट्रेलियासँग खेल्दै नेपाल

काठमाडौं । नेपालले टप एन्ड टी–२० शृङ्खलाको पहिलो खेलमा आज अस्ट्रेलियाको एनटी स्ट्राइकसँग खेल्दैछ। खेल दिउँसो २ बजे सुरु हुनेछ।

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा बिहीबारदेखि टप एण्ड टी–२० सिरिज सुरु भएको हो। २४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन्।

सिरिजमा नेपाल, पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’ र अमेरिकाबाट शिकागो किङ्समेनसँगै अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोलीहरू होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, साथै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक टोलीले सहभागिता जनाएका छन्।

नेपालले नकआउट चरणअघिको लिग चरणमा नेपालले नर्दन टेरिटोरी स्ट्राइक, बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ।

लिग चरणमा शीर्ष ४ हुने टिमबाट सेमिफाइनल खेलिनेछ भने त्यसपछि फाइनल खेल हुनेछ। नेपाल फाइनलसम्म पुगे कुल ८ खेल खेल्नेछ। नेपालले दोस्रो खेल १६ अगस्टमा बंगलादेश ए र तेस्रो खेल १८ अगस्टमा मेलबर्न स्टार्स, चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्स, पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्स र अन्तिम लिग खेल २२ अगस्टमा पाकिस्तान शाहीन्स विरुद्ध खेल्नेछ।

नेपाली टोलीले टप एण्ड टी–२० सिरिजपछि थप पाँच अभ्यास खेल खेल्ने छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालले क्रिकेट एसीटी र साउथ अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्ने जनाएको हो।

शृंखलाअन्तर्गत नेपालले भदौ १० गते सीटीविरुद्ध दुई टी–२० खेल खेल्नेछ। त्यसपछि नेपालले भदौ १२ गते साउथ अस्ट्रेलियाविरुद्ध पुनः दुई टी–२० खेल्ने छ। त्यसको २ दिनपछि नेपाल र साउथ अस्ट्रेलियाले १ एकदिवसीय खेल खेल्ने छन्।

नेपाल आगामी असोजमा ओमानमा हुने टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा गएको हो।

टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ। ९ टोली सहभागी छनोटमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ।

छनोटमा तीन समूहबाट शीर्ष दुई–दुई टोली सुपर सिक्समा पुग्नेछन् भने त्यसपछि शीर्ष तीनमा रहने टोली टी-२० विश्वकपमा छनोट हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *