सशस्त्र प्रहरी जवान बोहोराले गुमाए दुर्घटनामा ज्यान, अर्का गम्भीर घाइते

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ मा सवारी दुर्घटना हुँदा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

बिहीबार साँझ ट्रक र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक ३५ वर्षीय राजकुमार बोहोराको मृत्यु भएको हो । मृतक बोहोरा ३३ नम्बर गुल्म मुस्ताङ दरबन्दी भई हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

सोही दुर्घटनामा परी ३२ वर्षीय जितबहादुर महतो गम्भीर घाइते भएका छन् । महतो २६ नम्बर गण पश्चिम नवलपरासी बेलासपुर दरबन्दी रही हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान रहेको प्रहरी नायब उपरीक्षक नेपालले बताए ।

बाप्र०६–००१ क ०४४४ नं को मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ७६ प २७१७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्किएका थिए । प्रहरीका अनुसार, दुर्घटनामा घाइते दुवै जनालाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा बोहोराको उपचारको क्रममा मृत्यु भएको र जितबहादुरलाई थप उपचारका लागि चितवन लगिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *