नवलपुर कांग्रेसः पदाधिकारीको मतगणना सम्पन्न, उपसभापतिमा राना र घिमिरे विजयी



नवलपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नवलपुर जिल्लाको आईतबार सम्पन्न जिल्ला कार्यसमितिको निर्वाचनको पदाधिकारीहरुको मत परिणाम आएको छ ।

सोमबार साँझ सम्पन्न मतगणना अनुसार जिल्ला उपसभापतिमा बालकृष्ण घिमिरे र चन्द्रबहादुर राना विजयी भएका छ्न् । कुल खसेको मत १८१८ मध्ये घिमिरेले ११४१ र रानाले ७ सय ४८ मत प्राप्त गरेका हुन । त्यसै गरि उपसभापतिका अन्य प्रतिस्पर्धी उदय अधिकारीले ५९४ र पुर्ण सिंह रानाले ५८२ मत पाएका छ्न् ।

घिमिरे निवर्तमान जिल्ला सचिव हुन् भने राना मध्यविन्दु नगरपालिकाका नगरप्रमुख हुन् । घिमिरे सर्वसम्मत् निर्वाचित जिल्ला सभापति महेन्द्रध्वज जिसी, संघीय संसदका उम्मेदवार विष्णु कार्की र कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाका साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा थिए । राना भने कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीनिकट उम्मेदवार मानिन्छन् । रानाको विजयी सँगै नवलपुर कांग्रेसमा विनोद चौधरी अर्को प्रमुख शक्तिको रुपमा उदाएको कांग्रेस नेताहरुले उल्लेख गरेका छन् ।

त्यस्तै दुई वटा सचिवमा होमराज रानाभाट र महेन्द्र पोखरेल विजयी भएका छन् । रानाभाटले ११४० मत ल्याएका छन् भने पोख्रेलले १०१६ मतका साथ विजयी भएका छन् । सचिवका प्रत्यासी करुणासागर सुवेदीले ६६९ र मित्र भट्टराईले २५३ मत पाएका छ्न् ।

त्यस्तै सहसचिवमा उदयराज अर्याल र राजेश पौडेल विजयी भएको जिल्ला निर्वाचन समितिले घोषणा गरेको छ । अर्यालले १०९८ मत र पौडेलले १०७४ मत पाएर विजयी भएका छन् भने अर्का प्रत्यासी बिन्दु काफ्लेले ७२४ मत मात्रै प्राप्त गरेका छ्न् ।

आईतबार मतदान भएपछि मध्यरातीबाट सुरु भएको मतगणनाबाट पदाधिकारीसहित केही सदस्य पदको मत परिणाम आए अन्य पदको मतगणना जारी रहेको छ ।

पदाधिकारी सहित जिल्ला कार्यसमिति र महासमिति सदस्यहरुको निर्वाचन भए पनि जिल्ला सभापतिमा यस अघिनै महेन्द्रध्वज जिसी सर्वसम्मत भएका छ्न ।