नवलपुर समाज युकेको विशेष कार्यक्रम सम्पन्न
लन्डन । नवलपुर जिल्लाबाट विभिन्न कामको शिलशिलामा बेलायत पुगेका व्यक्तिहरुको साझा संगठन नवलपुर समाज युकेले विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । लन्डनको ऊलविचमा सम्पन्न कार्यक्रममा सांगीतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरु रेशम निर्दोष, अनुपा मगरलगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।
बेलायतका लागी नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्यको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व नवलपुर जिल्ला समाजका अध्यक्ष महेश देवकोटाले गरेका थिए । उक्त अवसरमा समाजका सल्लाहकार होम शर्माले आचार्यलाई स्वागत गरेका थिए ।
गुरु निलहरि घिमिरेद्वारा मन्त्र पढ्दै प्रमुख अतिथि राजदुत आचार्यले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष सन्तोष रेग्मीले सम्पूर्ण अतिथि एवम् सहभागीहरुलाई स्वागत गरेका थिए ।
उक्त अवसरमा समाजका सल्लाहकारहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने नेपालबाट आएका अतिथि तथा बेलायतमा रहेका जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो ।
बेलायतमा रहेका नवलपुरेहरुलाई एकैठाउँमा भेला गराई विभिन्न सुख दुख साटासाट गर्ने,नाचगान एवम् रमाईलो गर्ने र देश विदेशमा रहेका सबैलाई एकताबद्ध भएर अगाडी बढ्ने सन्देशसहित समाजले प्रत्येक वर्ष कार्यक्रमको आयोजना गर्ने गरेको समाजका सल्लाहकार इन्द्रजित सारुले बताए । कार्यक्रम समाजका महासचिव युवराज रानाले संचालन गरेका थिए ।
नवलपुर जिल्ला स्थायी घर भई हाल बेलायतमा रहेका नेपालीहरुको साझा संस्था नवलपुर जिल्ला समाज युके २०१८ सालमा स्थापना भएको हो । संस्थाले गृह जिल्ला लगायत देशका विभिन्न स्थानमा हुने विभिन्न विपत्ति र सकंटमा सहयोग गर्दै आईरहेको छ ।