

पोखरीमा डुबेर नवलपुरमा २ जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुईको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार शनिबार जिल्लाको कावासोतीमा पोखरीमा डुबेर दुईको मृत्यु भएको हो ।
कावासोती–१४ हेगौलीमा शनिबार पोखरीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
हेगौलीका पुरण चौधरीकी छोरी प्रिन्सा चौधरी आफ्नै घर अगाडि आँगनमा खेल्ने क्रममा नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबेकी थिइन् । पोखरीबाट उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए ।
त्यस्तै कावासोती–४ झुलुङ्गे पुलस्थित पोखरीमा देवचुली–१० गणेश टोलकी माया सिंजालीका छ वर्षीय छोरा ऋतिक पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए ।
पोखरीमा बेपत्ता बालकलाई अस्थाई प्रहरी पोष्ट शङ्खदेवबाट खटिएको प्रहरीको टोली र स्थानीय वासिन्दाले उद्धार गरेका थिए ।
पोखरीमा डुबेको अवस्थामा उद्धार गरिएका सिंजालीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए । मृतकको शव मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको पाठकले बताए ।