विराटनगरमा कोइरालाले जोगाए कांग्रेसको साख, उपमेयरमा एमालेकी कार्की विजयी



विराटनगर – स्थानीय तह निर्वाचन २०७९ मा पहिलो महानगरका रुपमा विराटनगर महानगरले आफ्ना जनप्रतिनिधि दिएको छ । जारी मतगणनाअनुसार देशका ६ महानगरमध्ये विराटनगरमा सबैभन्दा अगाडि मतगणना सम्पन्न भएको हो । पहिलो महानगर नेतृत्वमा मुख्य दुई राजनीतिक दलका उम्मेदवारले जित हात पारेका छन् ।

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले शनिबार बिहान २ बजे सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोइरालाले ३० हजार १ सय ७० मत ल्याएर महानगरको दोस्रो मेयर घोषित भएका हुन् ।

कोइरालाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सागरकुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गरेका हुन् । थापाले २१ हजार ४ सय ५५ मत पाएका छन् । २०७४ को स्थानीय निर्वाचनमा मेयरमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी हुँदा एमालेका विनोद ढकालले १७ हजार ३ सय २४ मत ल्याएका थिए ।

त्यसैगरी, उपमेयरमा एमालेकी शिल्पा निराला कार्की विजयी भएकी छन् । उनले २५ हजार ६ सय ८० मत ल्याएकी छन् । कार्कीका प्रतिद्वन्द्वी गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत पाएका छन् । यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । २०७४ को स्थानीय निर्वाचनमा यहाँ कांग्रेसले मेयर र उपमेयर सहित ८ वडा जितेको थियो । महानगरमा १९ वडा छन् ।