‘कृषि र मगर संस्कृति नै बौंदीकालीको पर्यायबाची बनाउँछु’

बौंदीकाली – आसन्न स्थानीय तह निर्वाचनमा बौंदीकालीबाट प्रमुखका लागि उम्मेदवारी दिएका नेकपा एमालेका प्रकाश ओझाले बौंदीकालीको विकासका लागि आफ्ना केही अवधारणाहरु अघि सारेका छन् ।

नेकपा एमालेबाट सर्वसम्मत् रुपमा गाउँपालिका अध्यक्षको उम्मेदवारी दिएका ओझाले आफ्नो उम्मेदवारी दिएसँगै बौंदीकालीको विकासका लागि आफूले केही विकासका खाकाहरु तयार गरेको बताएका छन् ।

ओझाले आफू गाउँपालिकामा निर्वाचित भइसकेपछि आगामी कार्यकालमा बौंदीकालीको समृद्धिका लागि दत्तचित्त भएर काम गर्ने बताए । उनले भने, ‘अबको ५ वर्षमा हामीले धेरै कामहरु गर्नुपर्नेछ । विशेष गरी कृषिमा आमूल परिवर्तन गर्नुपर्नेछ । त्यस्तै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन तथा विकास लगायतका क्षेत्रमा विशेष काम गर्नेछौं । विगत ५ वर्षमा खासै प्रगति भएन, बौंदीकालीबासीले विकासको महसुस गर्न पाएनन् । अब सबैले महसुस गर्ने गरी, देखिने गरि र हाम्रो गुणस्तरीय जीवनयापन गर्नका लागि सहज हुने गर्ने काम गर्नेछौं ।’

पोखरा, कावासोती, नारायणगढ, रामपुरलगायतका सहरहरुको बिच भागमा पर्ने बौंदीकालीमा विशेष गरि कृषिजन्य पदार्थको उत्पादनमा प्राथमिकता दिइने ओझाले बताए । उनले दूध, तरकारी र मासुको उत्पादनलाई प्राथमिकता दिएर पालिकाबाट आत्मनिर्भर भई निर्यातका लागि तयार गर्ने बताए । उनले भने, ‘बौंदीकालीमा उत्पादित दूध, तरकारी बिहान ९ बजे पोखराका भान्सामा पुर्याउने दायित्व मेरो भयो ।’

बौंदीकालीबासीको गुणस्तरीय जीवन नै आफ्नो मूल मुद्दा भएको बताउँदै ओझाले दक्ष जनशक्ति तयारका साथै उच्च शिक्षाका लागि युवाहरुलाई प्रोत्साहित गर्नु आफ्नो लक्ष्य रहेको बताए ।

ओझाले पर्यटकीय नगरी पोखराको नजिकै रहेको बौंदीकालीमा पोखराबाट चितवन जाने पर्यटकहरुलाई बौंदीकालीको बाटो प्रयोग गर्ने नीति र योजना बनाएको पनि बताए । उनले मगर बाहुल्यता रहेका बौंदीकालीका ३, ४, ५ र ६ नम्बर वडामा मगर संस्कृतिलाई संरक्षण गर्दै पर्यटकीय ग्रामीणका रुपमा विकास गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *