बौंदीकालीका एउटै वडाका एमालेका डेढसय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश
बाैंदीकाली–६ कांग्रेसमय बनाउने नवप्रवेशीको प्रण
नवलपुर – पूर्वी नवलपरासी अर्थात् नवलपुरको पहाडी गाउँपालिका बौंदीकालीको एउटै वडामा १ सय ५० बढी एमाले नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको ‘गाउँगाउँ जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत जिल्ला नेतृत्वहरुको उपस्थितिमा बौंदीकाली गाउँपालिकाको वडा नं. ६ नरमका १ सय ५० बढी एमाले नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।
उक्त पार्टी प्रवेश कार्यक्रममा वडा नं. ६ का मुख्य गरी सबै एमालेका नेताहरू कांग्रेस प्रवेश गरेको कांग्रेस वडा कार्य समितिका सचिव खुबबहादुर सारुले बताए । वडा कार्य समितिका सभापति थमनसिं पुलामीको अध्यक्षतामा वडा नं. ६ नरमको च्वाँर्दी खोलामा सम्पन्न कार्यक्रममा एमालेका स्थानीय नेताहरु किरण मास्की, ओव बहादुर झेंडी, चुरा बहादुर मास्की, उजिर बराल, मान बहादुर सोती, मन कुमार रानालगायतका कार्यकर्ता कांग्रेस प्रवेश गरेको वडा कार्यसमितिका सचिव सारुले बताए ।
‘गत स्थानीय निर्वाचनमा उक्त वडामा नेकपा एमालेले वडाध्यक्षसहित सबै पद जितेको थियो, अब हाम्रो एकछत्र हुने भयो,’ वडा कार्यसमितिका सभापति पुलामीले भने ।
एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका नेताहरुले नवलपुरको यस दुर्गम भेगको विकासका लागि कांग्रेस नै एकमात्र शक्ति रहेको महसुस भएकोले आफूहरु एमाले छाडी कांग्रेस प्रवेश गरेको बताए । उनीहरुले आगामी स्थानीय निर्वाचनमा वडा नं. ६ नरमलाई कांग्रेसमय बनाएर अत्याधिक मतले विजयी गराउने प्रणसमेत गरेका थिए । नवलपुरको बाैंदीकालीमा यसअघिको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले गाउँपालिका प्रमुख, उपप्रमुखसहित ३ वडा र एमालेले ३ वडा वडामा जित हात पारेको थियो ।
कांग्रेसको अभियानअन्तर्गत उक्त अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति एवं लोकप्रिय नेता महेन्द्रध्वज जिसी, गत संघीय निर्वाचनका नेपाली कांग्रेस क्षेत्र नं. २ का उम्मेदवार विष्णु कार्की, नवलपुर क्षेत्र नं. २ का अध्यक्ष जगत कार्की, क्षेत्रीय सह–अध्यक्ष सुर्य बहादुर गुरूङको उपस्थिति रहेको थियो ।
साथै उक्त कार्यक्रममा प्रदेश सभापति रामचन्द्र भण्डारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद कुमार चौधरीका राजनीतिक सहयोगी यज्ञ पाण्डे, बौंदीकाली गाउँपालिकाका सभापति केबी राना, उपसभापति डिल्लीराम रानाका साथै जिल्लाका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कांग्रेस नवलपुरले केन्द्रको नीतिअनुसार प्रत्येक गाउँ–गाउँमा अभियान पूरा गरेर आगामी निर्वाचनमा कांग्रेसको एकछत्र बहुमत दिलाउने गरी लागेको अभियानमा सहभागी केन्द्रीय सदस्य चौधरीका राजनीतिक सहयोगी पाण्डेले बताए । उनले नवलपुर कांग्रेसले पहाडी क्षेत्रमा नरमबाट सुरु गरेको अभियानले आफूहरुलाई उत्साहित बनाएको बताउँदै अब बौंदीकालीमात्र सम्पूर्ण नवलपुर नै कांग्रेसमय बन्ने विश्वास समेत व्यक्त गरे ।