

नवलपुरको अरुणखोला नजिकै बाघको आक्रमणबाट महिलाको मृत्यु

नवलपुर — नवलपरासीपूर्व नवलपुरको मध्यबिन्दु–१२ मा आज (शुक्रबार) बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । बिहान स्थानीय वनमा साग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताए । सारूसँगै गएका अन्यले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो ।
घटनास्थल अरुणखोला– दुम्कीबास सडकखण्डभन्दा करिब ५०० मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ । नवलपुरमा यसअघि मङ्सिर दोस्रो साता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१, मा स्थानीय सामुदायिक वन रक्षकको मृत्यु भएको थियो । सो घटनास्थल र आजको घटनास्थल केही दूरीको फरकमा छ ।
वन आसपासमा बाघको आतङ्क बढेको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिन अगाडि मात्रै एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयवासीलाई अनुरोध गरेको थियो । बाघको आक्रमणबाट थप एक जनाको मृत्य भएपछि चिन्तित स्थानीयवासी बाघलाई नियन्त्रण गरी निकुञ्ज क्षेत्रमा लैजान पहल गर्नुपर्ने माग गर्न थालेका छन् ।