

सागमा स्वर्ण पदक विजेता राईको कोरोनाबाट निधन

काठमाडौं । दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदकधारी कृष्णबहादुर राईको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ ।
नेपालमा सम्पन्न आठौँ सागमा कराँतेमा स्वर्ण पदक जितेका कराँते खेलाडी राईको नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
कोरोनाबाट सङ्क्रमित ५३ वर्षीय राईलाई साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो ।
राईले आठौँ सागमा टिम कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनले विसं २०५५ मा बाँकेको नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा एकल कातातर्फ समेत स्वर्ण पदक जितेका थिए । उनका श्रीमती र एक छोरा छन् ।