‘कैदी’ रेशम चौधरीको एकदिन ! ‘श्रीमान् न्याय देऊ हामीलाई क्षमा चाहिँदैन’



एउटा कैदी, देशकै प्रतिष्ठित ‘कैदी’हरु बस्ने ठाउँ डिल्लीबजार सदर खोरको गेटबाट निस्कन्छन् । नेपाली ढाका टोपी, कालो चश्मा अनि खुट्टामा टल्किएको जुत्ता, सेतो सुरुवाल र हल्का हरियो रंगको लबेदामाथि ज्वारीकोट, त्यसैमा प्रतिनिधिसभा सांसदको लोगोसहति निस्किए –रेशम चौधरी ।

सोमबार सायद धेरैपछि चौधरीलाई डिल्लीबजार सदरखोरको पर्खाल बाहिरको दृश्य हेर्ने अवसर जुर्यो, त्यो पनि शानका साथ । कैदीकै रुपमा बिना हतकडी, सुरक्षाकर्मीले घेरिएर पुगे निर्वाचन आयोग ।

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद निर्वाचन आयोगको ढोकासम्म पुगेपछि आयोगले जसपा विवाद समाधानका लागि इजलास नै गठन गर्न पुग्यो । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलाससमेत गठन गरिएको थियो । उक्त इजलासले आज अर्थात् साउन ११ गतेसम्म जसपाका कार्यकारिणी सदस्यहरुले स्वयं उपस्थित भई सनाखत गर्न आदेश दिएको थियो ।

इजलासको सो आदेशअनुरुप गर्नु पर्ने सनाखतका लागि चौधरीका लागि डिल्लीबजार जेलमै सनाखत गर्ने व्यवस्था मिलाइए पनि चौधरीले आफू निर्वाचन आयोगमै गएर सनाखत गर्ने जनाएपछि चौधरी पछिल्लो हुलियासहित निर्वाचन आयोग पुगे ।

पार्टीमा रहेका ५१ जनामध्ये ३४ जना उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरे भने १६ जनाले महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरे । तर, जेलबाट बिना हतकडी निस्किएका कैदी रेशम चौधरी तटस्थ बसिदिए ।

सुरक्षाकर्मीको बाक्लो घेरासँगै आयोग पुगेका चौधरीले सानका साथ सञ्चारकर्मीतिर हात हल्लाए, आयोग गए, अनि तटस्थ बस्ने घोषणा गरिदिए । पार्टीमा यादव पक्षको मत धेरै भएपछि पार्टीको आधिकारिकता यादवकै पक्षमा जाने अनुमान गरिएसँगै चौधरी तटस्थ बस्नु आगामी दिनमा यादवपक्ष सरकारमा गएर आफ्नो बारेमा ‘केही बोलिदेला’ भन्ने अपेक्षा नै हो भन्ने अनुमानसम्म गर्न सकिन्छ ।

आफ्ना पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भिष्मपितामहको संज्ञा दिँदै चौधरीले आफूलाई ‘क्षमा नभई न्यायको चाह रहेको’ समेत बताए । आयोगमा आएर आफू कुनै पनि अध्यक्षको पक्षमा नलाग्ने बताउँदै तटस्थ बस्ने घोषणा गर्दै चौधरीले आफू जसपाको सामान्य कार्यकर्ता भएकोले पक्ष पनि जसपा र विपक्ष पनि जसपा नै भएको बताएका थिए ।

सञ्चारकर्मीसँगको कुराकानीको अन्तिममा चौधरीले कवितात्मक शैलीमा आफ्ना माग प्रस्तुत गरे । उनले अगाडि भने –

कठघरामा उभिएर जति सत्य बके पनि

न्याय पाउँ भन्दै हजुर सयौँ पटक झुके पनि

 निरीह ठान्दा रहेछन् शीर निहुराएपछि

दोषी ठहर्याउँदा रैछन् चुप लागेर बसेपछि

श्रीमान् न्याय देऊ हामीलाई क्षमा चाहिँदैन

दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन 

अर्को तीन वटा प्वाइन्ट, एक न्याय, दुई न्याय, तीन न्याय ! 

भन्दै पुनः प्रहरीकै गाडीमा चढेर लागे डिल्लीबजार सदरखोरतर्फ ।