कोरोनाबाट उद्योगी अग्रवालको निधन, झापामा दैनिक ३/४ जनाको कोरोनाबाट मृत्यु



झापा । कोभिड–१९ सङ्क्रमणका कारण जिल्लाका पुराना तथा दर्जनौँ उद्योगका सञ्चालक पर्शुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६२ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको सिलिगुडीस्थित महाराजा अग्रसेन नर्सिङहोममा बुधबार राति निधन भएको हो ।

उनको शवलाई बिहीबार बिहान भद्रपुर ल्याएर नेपाल स्काउटको टोलीले दाहसंस्कार गरेको परिवारले जनाएको छ । केही समयअघि स्वास्थ्यमा समस्या आएपछि मेची अस्पतालमा उहाँको पिसिआर परीक्षण गराइएको थियो । गत जेठ ३१ गते अग्रवाललाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै होमआइसोलेशनमा बसेर उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि यही असार ४ गते सिलिगुडी लगिएको थियो । उपचारकै क्रममा नर्सिङहोममा उनको निधन भएको हो ।

शुरुमा घरमै ‘घडी बिडी’को उद्योग स्थापना गर्नुभएका उहाँले हाल मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कूल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटल, सिनेमा हललगायत सञ्चालन गर्दै आएका थिए ।

अन्य जिल्लामा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको दर घटे पनि झापामा भने दैनिक कोरोना सङ्क्रमणकै कारण तीनदेखि चार जनाको मृत्यु भइरहेको छ ।