

जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद थापा निलम्बित

पोखरा – राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको छ ।
साधारण सदस्यबाटै निलम्बन गरिएको महासचिव मनोज भट्टले जानकारी दिए । थप कारबाहीको प्रक्रिया चलिरहेको उनले बताएका छन् ।
थापा विपक्षी गठबन्धनलाई सघाउने पार्टीको ह्वीप नमानी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा खुलेर लागेका थिए ।
गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको केही दिनमा विश्वासको मत लिनुपर्ने हुन्छ । यहीबीच भएको थापाको निलम्बनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । जनमोर्चाले उनलाई यसअघि नै संसदीय दलको नेताबाट हटाएको थियो ।