

दुम्कौलीमा मध्यरातमा ट्रक ठोक्कियो, दुवै चालकको मृत्यु, सहचालकहरु घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
दुम्कौलीस्थित सडकमा राती करिब १२ बजेतिर मालबहाक दुई वटा ट्रक एकापसमा ठोक्किँदा दुवै ट्रकका चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
दुर्घटनामा ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका–१५ का ५१ वर्षीय खिमबहादुर विक र ७०२३ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिकाका ३५ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै जनाको उपचारका क्रममा जिल्ला अस्पताल डन्डामा मृत्यु भएको हो ।
घाइते सहचालकद्वय तनहुँ बन्दीपुरका वर्ष १८ का विश्वास शाही र दाङको बबई–६ का सुन्दर खड्का भनिने घनश्याम खड्का छन् । उनीहरु दुवैको अवस्था गम्भीर रहेको र उपचार गर्न चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको पनि प्रहरीले जनाएको छ ।