

तनहुँको ऋषिङमा तीनदिने सांस्कृतिक महोत्सव आयोजना गरिँदै

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–६ गोठार्दीमा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव हुने भएको छ । आयोजक समितिले शनिबार दमौलीमा पत्रकार सम्मेलन गरी फागुन २८ देखि चैत १ गतेसम्म तीन दिन सांस्कृतिक महोत्सवको आयोजना गरिएको जानकारी गराएको हो ।
कार्यक्रमको आयोजकमा स्थानीय झोर्ले गणेश युवा क्लब तथा सहआयोजकमा लाङ्घाली युवा क्लब छ । कार्यक्रममा दुई दर्जन बढी सङ्घसंस्था सहयोगी संस्थाका रूपमा सहभागी हुँदैछन् । संस्कृतिबाट पर्यटन क्षेत्रको उत्थान हुने सम्भावना देखिएकाले विगत पाँच वर्षदेखि निरन्तर हुँदै आएको छ ।
महोत्सवका प्रवक्ता दानबहादुर आलेका अनुसार पर्यटन तथा स्थानीय कलाकारलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । उनले भने, ‘महोत्सवमा ग्रामीण क्षेत्रमा उत्पादन गरिएका कृषिजन्य वस्तुको समेत बिक्री वितरण व्यवस्था मिलाइनेछ ।’
जिल्लाको दक्षिण भेगमा पर्ने यस पालिका प्राकृतिकरूपमा सुन्दर धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले समेत प्रचुर सम्भावना बोकेको छ । आदिवासी जनजातिको बाहुल्यता रहेको यस क्षेत्र सांस्कृतिकको खानीका रूपमा परिचित हुँदै आएको महोत्सव मूल आयोजक समितिका संयोजक शम्भु थापाले बताए।
रानीपोखरी, गढीदरबार, कोटदरबारजस्ता ऐतिहासिकस्थल रहेका छन् भने अजम्बरी माई, दुर्गा भवानी, ज्यामिरे माई, कल्याणदेवी, गड्गेश्वर महादेव मन्दिर र दुबुङ भ्यूटावरलगायतका थुप्रै धार्मिक तथा पर्यटकीयस्थल छन् ।
सांस्कृतिक झाँकीसहितको प्रभातफेरी, विभिन्न जातजातिको स्थानीय सांस्कृतिक कार्यक्रम तथा नाच, स्थानीय तथा लोकप्रिय कलाकारको प्रस्तुति, राष्ट्रियस्तरमा चर्चित बाल कलाकारको प्रस्तुति, हाँस्य कलाकारको मनोरञ्जनात्मक कार्यक्रम, मगर जातिको प्रचलित लोपोन्मुख रोदीको झलक, स्थानीय खानाको परिकार, रोटेपिङलगायत मुख्य आकर्षण रहेको महोत्सव आयोजक समितिले जनाएको छ ।
महोत्सवमा राष्ट्रियस्तरमा चर्चित बाल कलाकार कमला घिमिरे, मुना मगरलगायतको सहभागिता रहेकाले महोत्सव रोचक बन्ने अपेक्षा गरिएको छ । महोत्सवमा २० हजार दर्शकको सहभागिता रहने र करिब रु १५ लाख बराबरको आर्थिक कारोवार गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।