‘श्री दीप कुञ्ज’ संयोग कि… ?
आम नेपाली जनताको सुख दुःखका लागि नेपाल प्रहरी सबैभन्दा असल साथी हो भन्दा अत्युक्ति नहोला । हरेक आपत्–विपत्, अपराध नियन्त्रणका साथै अमन चयनका लागि रात दिन नभनी चौबिसै घन्टा जनताको सेवाका लागि खटिने नेपाल प्रहरी नै हो । सो संगठनलाई कमाण्ड गर्ने प्रहरी महानिरिक्षक (आईजी) का लागि सुरक्षित र सुविधासम्पन्न निवासको व्यवस्था गर्नु सरकारको दायित्व हो ।
कुनै पनि आफ्ना कर्मचारीलाई सुरक्षित र सकेसम्म सुविधाको प्रत्याभूति गराउनु पर्ने सरकारको मात्र नभई संगठनको पनि दायित्व नै हो । सोही अनुरुप नेपाल प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा यसअघि रहेको जीर्ण प्रायः रहेको आईजी निवास परिसरमा भवन निर्माण गरिएको छ ।
सो भवनको प्रहरी महानिरिक्षक दिपक थापाले सोमबार उद्घाटन गरेका छन् । संगठनको कमाण्ड गर्ने आईजीका लागि संगठन सञ्चालनका लागि आवश्यक पर्ने सुविधासम्पन्न भवन बनाउनु ढिलाई भइरहेको अवस्थामा आईजी थापाको पालामा उक्त भवन बन्नु नेपाल प्रहरीका लागि गौरवको कुरा हो ।
मुलुककै सबैभन्दा ठूलो संगठनको कमाण्ड गर्ने उच्च अधिकृतका लागि कार्यालय एवं सांगठनिक प्रयोजनका लागि सुविधा सम्पन्न र सुरक्षित वातावरण बनाउनु सरकार साथै संगठनको दायित्व हो, त्यसलाई कार्यान्वयन गर्ने काम वर्तमान आईजी दीपक थापाले गरेका छन् । संगठनका लागि दीपक थापाले गरेको यस किसिमको कार्यले सदियौंसम्म पनि प्रेरणा अवश्य दिन्छ । त्यसका लागि आईजी थापाका साथै नेपाल प्रहरी संगठन मात्र नभई सरकार पनि धन्यवादको पात्र रहेको छ ।
संगठनले आफ्नो मातहतमा रहेका विभिन्न भौतिक संरचनालाई पहिचानका लागि फरक फरक नामाकरण गर्ने यो पहिलो कदम पक्कै होइन । हेडक्वार्टरभित्रै रहेका विभिन्न सभाहलका साथै भवनहरुको फरक फरक नामाकरण गरिएको छ । सोही अनुरुप थापाले उद्घाटन गरेको नवनिर्मित भवनको पनि छुट्टै नामाकरण गरिएको संगठनको आधिकारिक पेजमा नै उल्लेख गरिएको छ । आईजी थापाले उद्घाटन गरेको उक्त नवनिर्मित भवनको नाम ‘श्री दीप कुञ्ज’ राखिएको सार्वजनिक भएसँगै सानो संयोग भने जुरेको छ । उक्त भवनले भविष्यमा संगठनको कार्य र अभियानलाई ‘दीप’ ले जस्तै गरी उज्यालो छर्न सफल रहोस् ।
संगठनको कमाण्ड सम्हालेसँगै संगठनका आम कर्मचारीहरुले लामोसमयदेखि रोकिइराखेको बढुवाका साथै सरुवा बढुवाका लागि सुनिने गरेका अनियमितताको अन्त्यको आभाष भइरहेका बेला थापाले आफ्नो पालामा भवन निर्माण गरेर संगठनमा सधैं आफ्नो नाम ‘अमेट’ राखे भन्ने आरोप खेप्न नपरोस् । अनि भविष्यमा आउने अर्का आईजीहरुले आफ्नो नामको अगाडीको अक्षरबाट अन्य भवन बनाउने ‘ट्रेन्ड’ नचलोस् ।
वर्तमान आईजी दीपक थापाको नामको अगाडिको अक्षरबाट भवनको नामाकरण भएको आभाष सम्म पनि नगराई सो भवनको प्रयोग गर्नेहरुले ‘दीप’ जस्तै बनेर उज्यालो प्रकाशका साथ अँध्यारो चिर्न सफल होउन् ।
