प्रहरीबाट सगरमाथा चढ्ने पहिलो महिला सई शेर्पालाई दर्ज्यानी चिन्ह



काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले प्रहरी नायब निरिक्षक (सई) मा विशेष बढुवा भएकी कुन्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

आईजी थापाको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले प्रहरी सहायक निरीक्षक (असई)पदबाट प्रहरी नायव निरीक्षक (सई)मा विशेष बढुवा भएकी शेर्पालाई आईजिपी थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई नीति निर्माण समिति बैठकको निर्णयले विशेष बढुवा प्रदान गरी असईबाट सईमा बढुवा गर्ने निर्णय गरेको थियो । शेर्पा नेपाल प्रहरी संगठनबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी कर्मचारी समेत हुन् ।

उक्त अवसरमा आईजी थापाले अदम्य साहसका साथ विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी प्रहरी संगठनको श्रीवृद्धिको लागि गरेको कार्यको उच्च प्रशंसा गरे । पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने चर्चा गर्दै आगामी दिनमा थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न उनले निर्देशन समेत दिए ।

नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८ः५६ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं भन्ने नारा सहितको ब्यानर फहराउन सफल भएकी थिइन् ।