

प्रहरी हवल्दार मियाँले गरे थुनुवा कोठामै आत्महत्या प्रयास

बारा । अरूलाई फसाउन खोजेको आरोप लागेर पक्राउ परेका प्रहरी हबल्दारले जिल्ला प्रहरी कार्यालय बाराको थुनुवा कोठामै आत्महत्याको प्रयास गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी हवल्दार गयासुद्दिन मियाँले बारा प्रहरीको थुनुवा कोठामा झुन्डिएर आत्महत्याको प्रयास गरेका हुन् । उनलाई झुन्डिन देखेपछि ड्युटीमा रहेका प्रहरीले जोगाएका थिए । त्यहाँबाट उनलाई उपचारका लागि कलैया अस्पताल भर्ना गरिएको छ ।
हबलदार मियाँमाथि व्यक्तिगत रिसइबी साँधेर निर्दोष सिम्रौनगढ नगरपालिका– २ का रामसेवक साहलाई लागुऔषध मुद्दामा फसाउन खोजेको आरोप लागेको छ । सोही आरोपको अनुसन्धानका लागि बिहीबारदेखि उनी बारा प्रहरीको हिरासतमा थिए ।
हवल्दार मियाँले ब्राउन सुगर जस्तो पदार्थ आफ्ना सहयोगीमार्फत साह बसेको स्थानमा राख्न लगाएको र पछि प्रहरीलाई खबर गरेर पक्राउ गर्न लगाएको खुलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी बताए ।