प्रहरीका ३ उच्च अधिकारीको बिदाई 

संगठनलाई रचनात्मक सहयोग गर्न तयार छौंः अवकाश प्राप्त अधिकृतहरु



काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजेशनाथ बास्तोलालाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् । नेपाल प्रहरीले एकैदिन ३ उच्च अधिकारीहरुको बिदाई गरेको हो ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै आईजी कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यवसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारिताको उच्च प्रशंसा गरे ।  संगठनले सुम्पिएका हरेक पदीय दायित्व सफलतापूर्वक निर्वाह गरी हासिल गरेको अनुभव तथा विज्ञता संगठनको हितका लागि सदैव आवश्यक हुने भएकोले आगामी दिनमा समेत सेवानिवृत्त अधिकृतहरूको उपलब्धीमूलक सत्प्रयासको अपेक्षा रहेको उनले उल्लेख गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त भएका एआईजीद्वय जोशी र राणा तथा डिआईजी बास्तोलालाई मायाको चिनो प्रदान गरे ।

कार्यक्रममा सेवानिवृत्त भएका जोशी र राणाका साथै बास्तोलाले आफ्नो सेवा अवधिमा गरेका विभिन्न कार्यहरू स्मरण गर्दै अनुभव सहितको आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताए ।

विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका एआईजी जोशी कात्तिक १७ गते तथा एआईजी राणा कात्तिक १५ गते र विसं २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका बास्तोला कात्तिक १० गते सेवानिवृत्त भएका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।