

हिमपातबाट बन्द विद्यालय सञ्चालनमा

ताप्लेजुङ – हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरुआत भएको छ । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ ।
गत पुस महिनादेखि हिमपात हुन शुरु भएसँगै पुस १५ देखि विद्यालय बन्द गरिएको थियो । हिमपातपछि अत्यधिक जाडोले गर्दा विद्यार्थी पढ्न नसक्ने भएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानध्यापक डिकबहादुर केसीले जानकारी दिए ।
विस्तारै मौसम राम्रो हुँदै गएपछि विद्यालय सञ्चालनमा आएको हो । विद्यालयमा ३२ विद्यार्थी अध्ययनरत छन् । यस्तै फक्ताङलुङ गाउँपालिका– ६ घुन्सा समुद्र सतहदेखि तीन हजार ५०० उच्चाइमा पर्दछ ।
घुन्सामा हिमपात हुन शुरु भएसँगै घुन्सा आधारभू्त विद्यालय गत पुसको पहिलो हप्तामै बन्द भएको थियो । सो विद्यालय यही फागुन १५ देखि पठनपाठन हुने तयारी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयप्रकाश रिजालले जानकारी दिए । विद्यालयमा ४२ विद्यार्थी अध्यायनरत रहेका छन् ।