रुपन्देहीमा काठमाडौं विश्वविद्यालयको आईटी कोर्स विस्तार



काठमाडौं । विश्वविद्यालयको विस्तारित कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको मणिग्राममा रेडियन्ट कलेज स्थापना भएको छ ।

काठमाडौं विश्वविद्यालय अन्तरगत रुपन्देहीको मणिग्राममा अवस्थित रेडियन्ट कलेजमा सूचना प्रविधिको शैक्षिक कार्यक्रम BTech Ed IT संचालन हुने भएको छ ।

यस शैक्षिकसत्रमा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि भदौ २८ गते शुक्रबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विश्वविद्यालयका विभागिय प्रमुख विनोद पन्तको प्रमुख आतिथ्यता तथा कलेजका अध्यक्ष आलोककुमार पाण्डेको सभापतीत्वमा सम्पन्न भएको उक्त कार्यक्रमा वर्तमान समयमा सूचना प्रविधिको महत्व, आवश्यकता र यसको भविष्यका बारेमा क्याम्पसका प्राचार्य अनन्त पाण्डे, सोल्भ टेक सफ्टवेयर कम्पनीका कार्यकारी अधिकृत पवन नेपाल, इन्फाइनाइट प्रालिका इन्जिनियरिङ निर्देशक प्रकाश अर्याल, लगायतले चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै विभागिय प्रमुख पन्तले काठमाडौं विश्वविद्यालयले सञ्चालन गरेको शैक्षिक कार्यक्रम पहिलोपटक रुपन्देहीको रेडियन्ट कलेजमा सञ्चालन हुन पाउंँदा यस क्षेत्रका विद्यार्र्थीले नविनतम प्रविधि र पाठ्यक्रममा आधारित शिक्षाबाट लाभान्वित हुने बताए ।

नेपालमै पहिलो पटक २५ वटा भन्दा बढी राष्ट्रिय र अन्तराष्ट्रिय सफ्टवेयर कम्पनीहरुको संयुक्त पहलमा सो कलेजमा पढेका विद्यार्र्थीलाई पहिलो वर्षको अध्ययन पश्चात इन्टर्नसिप र रोजगारीको समेत व्यवस्था गरिने कलेजका अध्यक्ष ईन्जिनियर आलोककुमार पाण्डेले बताए ।