पाण्डे र सुवेदीले ल्याए ‘बिजनेस इन्भारोमेन्ट’काे नयाँ पुस्तक बजारमा



काठमाडौं । स्नातक तहको बीबीए, बीबीएम र बीआईएमका विद्यार्थीका लागि ‘बिजनेस इन्भारोमेन्ट’ विषयको नयाँ पुस्तक बजारमा आएको छ । कलेज अध्यापन क्षेत्रमा लामो अनुभव रहेका लेक्चरर नेत्र बहादुर पाण्डेले आफ्नो दोस्रो कृतिको रूपमा यो पुस्तक बजारमा ल्याएका हुन् ।

व्यवस्थापन संकायतर्फ प्रायजसो सैद्धान्तिक विषयमा विज्ञ मानिएका पाण्डे २०५३ देखि शिक्षण पेशामा आबद्ध छन् । यस पुस्तकमा उनले आफ्नो २८ बर्षे लामो शैक्षिक अनुभवलाई सरल तरिकाबाट प्रस्तुत गरेका छन् ।

बिद्यार्थीका समस्याहरुको सुक्ष्म ढंगले अध्ययन गरी आवश्यकताअनुसार हरेक बिषयमा सरल तरिकाले प्रस्तुत हुनु नै उनको अध्यापनको बिशेषता हो । उनी हाल सरस्वती बहुमुखी क्याम्पसमा अध्यापनरत छन् । उनीसँग राजधानीका अन्य विभिन्न क्याम्पसहरुमा अध्यापन गरेको पनि अनुभव रहेको छ ।

पाण्डे शिक्षण पेशाका अलावा मानव अधिकार र समाज रुपान्तरणका क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन् ।

प्रकाशित पुस्तक TU को नयाँ पाठ्यक्रमअनुसार BBA, BBM, BIM का विद्यार्थीहरु, शिक्षक, पेशाकर्मी, उद्दमी र अनुसन्धानमा रुचि राख्ने सम्पुर्ण पाठकहरुको लागि उपयोगी हुने लेखक पाण्डेले जनाए । साथै PU लगायतका अन्य विश्वविद्यालयका लागि पनि लाभदायक हुने जनाएका छन् ।

यस पुस्तकभन्दा अघि पाण्डेको ‘फण्डामेन्टल अफ मार्केटिङ’ पुस्तक पनि बजारमा उपलब्ध छ ।

यस पुस्तकमा लेक्चरर राजेश सुवेदीको पनि सहलेखन रहेको छ । १२ वर्षदेखि अध्यापन क्षेत्रमा रहेका सुवेदी हाल मेची बहुमुखी क्याम्पसमा लेक्चचरका रूपमा कार्यरत छन् ।