‘Dear Sumana, एक नजर यता पनि !’



काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालय प्रदर्शन गरेको छ । नेपालका विश्व विश्वविद्यालयलाई संसारकै नमुना विश्वविद्यालय बनाउने उद्घोषका साथ शिक्षा मन्त्रालय सम्हालेकी शिक्षामन्त्री सुमना श्रेष्ठ र  त्रिविका नवनियुक्त उपकुलपती केशरजङ्ग बराललाई लक्षित गर्दै नेविसंघले प्रदर्शन गरेको हो ।

एक वर्ष अगाडि विद्यार्थीले दिएको परिक्षाको उत्तर पुस्तिका हराउँदै पुनः परिक्षाको समयतालिका प्रकाशित गरेसँगै विद्यार्थी आन्दोलिन भएका हुन् ।

२०८० वैशाख महिनामा सञ्चालित बीए प्रथम वर्षको परीक्षाको नतिजा आउनुपर्ने बेला भइसके पनि अन्तिम समयमा आएर ‘पीओपी–४२२’ विषयको उत्तर पुस्तिका हराएको खबर बाहिरिएसँगै त्रिभुवन विश्वविद्यालयविरुद्ध सामाजिक सञ्जालका साथै भौतिक रुपमा पनि आवाज उठ्न थालेका छन् ।

विश्वविद्यालयको चरम लापरबाहीले विद्यार्थी मर्कामा परेको र विश्वविद्यालयको विश्वासनियतामा पनि प्रश्न चिन्ह खडा भएको आन्दोलनरत विद्यार्थी बताउँछन् । परिक्षा भएको यतिबेलासम्म नतिजा प्रकाशन नहुनु, अनि कपि हराउनु र दोषीमाथि कारबाही नगरी उल्टै विद्यार्थीहरुलाई पुनः परिक्षा दिन बाध्य बनाउने त्रिविको बद्नियतपूर्ण कार्यका लागि शिक्षा मन्त्री र उपकुलपतिको ध्यानाकर्षण गराएको आन्दोलनरत विद्यार्थीहरुले जनाएका छन् ।

साथै आन्दोलतरत विद्यार्थीहरुले रजिस्ट्रार र रेक्टर नियुक्तिका लागि छनोट प्रक्रिया पारदर्शी नभएको विषयप्रति समेत आपत्ति जनाएका छन् ।

आन्दोलतरत विद्यार्थीहरुले, ‘Dear Sumana, एक नजर यता पनि !’, मन्त्री फेरिए ख्ऋ फेरिए तर उत्तरपुस्तिका हराउने चलन फेरिएन, क बाट कछुवा, ख खरायो, हाम्रो उत्तरपुस्तिका कता हरायो ?’ Dear Sumana उत्तर पुस्तिका हराउनु कस्ते Namuna ? जस्ता नारा लेखिएका पर्चा बोकेर प्रदर्शन गरेका थिए ।