

एसइई परीक्षा बिहीबारदेखि, कति हुँदैछन् त सहभागी ?

काठमाडौं । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पुरा भएको छ ।
बोर्डका अनुसार चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुँदैछन् ।
कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जानकारी दिएको छ । त्यसैगरी परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुदै छन् ।
त्यस्तै जापानबाट २३ जना सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् । जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ । जापानमा केन्द्र रहेको स्कूलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । हुलाकमार्फतमा उत्तर पुस्तिका पठाइएको जापानमा परीक्षा सुरु हुनु अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिएका छन् ।
त्यस्तै परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ जसमा सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।