रोटरीको १६ औं डिस्ट्रिक्ट सम्मेलन सम्पन्न, ऐतिहासिक भएको गभर्नरको भनाई



बुटवल । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको १६ औ डिस्ट्रिक्ट कन्फ्रेन्स बुटवलमा सम्पन्न भएको छ । चैत्र दुई, तीन र चार गते गरि तीन दिनसम्म चलेको उक्त सम्मेलनमा १७ सय भन्दा बढि रोटरियनहरुको सहभागिता रहेको थियो । उक्त सम्मेलनको सफलताको शुभकामनाका लागि नेपाल सरकारका उपप्रधान तथा भौतिक योजना तथा पूर्वाधार मन्त्री, आरआईपीआर, प्रदेश सांसद, स्थानीय सरकारका प्रमुखहरु लगायतका अतिथिको उपस्थिति रहेको थियो ।

सम्मेलनमा रोटरीका विविध आयामका सन्दर्भमा सघन रुपमा बहस तथा छलफल भएको थियो । सम्मेलनमा रोटरीका सन्दर्भमा आम रोटरियनका विचार मात्र पोखिएनन, रोटरी भन्दा बाहिर राज्य, नागरिक समाज एवं अन्य साझेदार संस्थाका प्रतिनिधीहरु समेतले रोटरीका बारेमा आफ्ना दृष्टिकोणहरु राखे ।  आम नागरिलाई रोटरीबारे सुसूचित गराउने सन्दर्भदेखि रोटरीलाई अझ बढि गतिशिल एवं जीवन्त संस्थाका रुपमा विकास गर्ने मार्गचित्रकाबारेमा समेत काफी रुपमा सम्मेलनमा बहस भएको थियो । रोटरीप्रतिको आर्कषणलाई कसरी बढाउने, रोटरीलाई थप बिबिधतायुक्त, समतामूलक र समावेशी कसरी बनाउन सकिन्छ भन्ने सन्दर्भमा वक्ताहरुले विचार राखेका थिए । समुदायको आर्थिक एवं सामाजिक रुपान्तरणरमा महत्वपूर्ण भूमिका खेलेको रोटरी इन्टरनेशनलाई आम नागरिकका विचमा अझ सहज, सरल र विस्तारित रुपमा कसरी लान सकिन्छ भन्ने सन्दर्भमा रोटरियन तथा अतिथि वक्ताहरुले कार्यक्रममा विचार राखेका थिए ।

सम्मेलनमा १७ सय भन्दा बढी रोटरिनयहरुले रोटरीका विविध आयाम बारे थप जानकारी  त प्राप्त गरे नै, त्यसका अतिरिक्त एकअर्काविचमा चिनजान एवं भावनात्मक सम्बन्ध विस्तारको एक महत्वपूर्ण अवसर समेत सम्मेलन बन्यो । सम्मेलनलाई सम्बोधन गर्दै नेपाल सरकारका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठले भने, रोटरीले नेपालको शिक्षा, स्वास्थ्य, स्वरोजगार लगायतका क्षेत्रमा दिएको योग्दानलाई राज्यले भूल्न सक्दैन । जनतामा चरम निराशा छाईरहेको सन्दर्भमा आशाको संचार गर्नका लागि रोटरीले खेलेको भूमिका उल्लेखनीय छ, अनुकरणीय छ, प्रशंसायोग्य छ, उपप्रधानमन्त्री महासेठको भनाई थियो । समृद्व नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउनका लागि नेपाल सरकार रोटरी जस्ता अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य गर्न सदैव उत्साहित रहने उनले महासेठले बताए । देशमा आमूल रुपान्तरणको यात्रामा रोटरीसँग हातेमालो गर्दै राष्ट्र निर्माणमा रोटरीको रचनात्मक सल्लाहको अपेक्षा नेपाल सरकार गर्दछ, उपप्रधानमन्त्री महासेठको धारणा थियो ।

कार्यक्रममा प्रत्येक वर्ष प्रदान गरिने गोपाल कमला राजभण्डारी भोकेसनल एक्सिेलेन्स अवार्ड, कान्छीमाया जनकदास अवार्ड र डा गोपाल सुनिति प्रोफेसनल विमेन अवार्ड लगायतका अवार्डहरु प्रदान गरिएको थियो भने रोटरी क्लवका प्रभावशाली परियोजनाहरु पुरस्कृत भए । सम्मेलनमा रोटरीमा महिला नेतृत्व, युवा सहभागिता, रोटरीमार्फत सञ्चालित परियोजना र तीनको प्रभाव, सदस्यताको वर्तमान अवस्था र आगामी मार्गचित्र, द रोटरी फाउण्डेशनको महत्व, मानसिक स्वास्सथ्य देखि रोटरीको सार्वजनिक छविका सन्दर्भमा रोटरीभित्र र बाहिरका वक्ताहरुले धारणा सम्मेलनमा राखेका थिए ।

समग्रमा सम्मेलनवाट आम रोटरियनहरुले नयाँ उर्जा लिएर फर्केको रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजुले बताए । ध्वजुले सम्मेलनलाई सभ्य र भव्य बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै सम्मेलनवाट प्राप्त मार्गदर्शनलाई प्रत्येक रोटरिनयहरुले व्यवहारमा उतार्र्ने आशा आफुले लिएको बताए । रोटरियनले आफुलाई कसरी सामाजिक, आर्थिक रुपान्तरणको संवाहक बनाउने भन्ने सन्दर्भमा धेरै जानकारी प्राप्त गरेको र त्यसैअनुसार आफुलाई जनसेवाका काममा समर्पित हुनका  अपिल समेत उनले सम्मेलनको समापनका अवसरमा गरेका थिए ।