

नेपाली सेनाका नवनियुक्त ५५ अधिकृतलाई दर्ज्यानी चिन्ह

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवा अन्तर्गत स्वास्थ्य समूहमा रिक्त रहेका अधिकृत पदहरूमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएकाहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति शर्माले प्राडा उप सेनानी २ जना र प्राविधिक उप सेनानी (स्वास्थ्य समूह) ५३ जना गरी ५५ जना नवनियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
आयुक्त पद प्रदान कार्यक्रममा प्रधान सेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
नेपाली सेनाका रथी, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापतिले नवनियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।