डा. नारायण अर्थात् गिनिज बुक रेकर्डधारी डाक्टर, जो नवौं रेकर्डका लागि लेख्दैछन् विश्वकै लामो शीर्षकको किताब



नवलपुर । नवलपुरको गैंडाकोट निवासी नारायण प्रसाद आचार्य पेशाले डेन्टल सर्जन हुन् । सेतो कोट लगाएर अस्पतालको बिरामी कक्षमा बिरामीहरुको दाँतको उपचार गरिरहन व्यस्त हुने नारायणको अर्को परिचय समेत बनेको छ पछिल्लो समय– विश्व गिनिज बुक अफ रेकर्डका धनी नेपालकै पहिलो डाक्टर ।

डा. नारायण यसअघि सेती प्रादेशिक अस्पतालमा बिरामी कक्षमा भेटिइरहन्थे, तर पछिल्लो समय आफ्नो विश्व गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संख्या बढाउनका लागि हरदम मिहिनेत गरिरहेका छन् । पढाईमा अब्बल नारायण शिक्षा मन्त्रालयबाट पूर्ण छात्रवृत्तिमा शैक्षिक उपलब्धी हासिल गरेका उनले अहिलेसम्म ५ वटा गिनिज बुक अफ रेकर्ड राखेर नेपाली डाक्टरहरुमा एकमात्र ‘रेकर्ड होल्डर’ बनेका छन् ।

बुवा स्व. धनपति उपाध्याय र आमा देवी उपाध्यायका कोखबाट संसार देखेका नारायणले भविष्यमा संसारले हेर्ने व्यक्ति बन्ने प्रयासमा विश्वकै लामो किताब लेखेर विश्व कीर्तिमान राख्ने तयारी पनि गरिरहेका छन् ।

त्यसपछि करिब १ लाख pie 3.1415 सङ्ख्या क्रमशः याद गरेर पनि अर्को रेकर्डको अभ्यास गरिरहेका नारायणले पछिल्लो समय आफ्नो ज्ञानको साथै कौशलको पनि राम्रो प्रयोग गरिराखेका छन् । पीडामा रहेको बिरामीको मुहारमा खुशी ल्याउने पेशामा रहेका नारायणले व्यावसायिक जीवनकै क्रममा पनि अतिरिक्त कार्य गरेर अन्यका लागि प्रेरणाको स्रोत बन्न सकिने भन्ने दृष्टान्त दिन सफल भएका छन् ।

उनका अहिलेसम्मका विश्व रेकर्ड हेर्दा अचम्म लाग्छ । मान्छेले कसरी यस्तो गर्न सक्छ होला भन्ने किसिमका रेकर्ड राखेका छन् नारायणले । उनले यसअघि खुट्टाको उल्टो बुढी औंलाको भागले टेक्दै सबैभन्दा धेरै हिँडेर अनौठो कीर्तिमान राखेका छन् । त्यस्तै उनले सन् २०१९ मा एकै साईजका सर्वाधिक मैनबत्तीलाई हातको औंलाले निभाएर अमेरिकी नागरिक अस्रिता फरमेनको रेकर्डलाई तोड्दै आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाउन सफल भएका थिए ।

एउटा रेकर्ड कायम गरेपछि पनि बिरामीप्रतिको कर्तव्यका साथै आफ्नो लगनशीलताको उदाहरणस्वरुप त्यतिमै रोकिनु हुँदैन भन्ने सोच भएका आचार्यले सन् २०२१ र २०२२ मा आचार्यले आफ्नो नाममा थप रेकर्ड थपे। उनले आफ्नो खुट्टाको उल्टोपट्टी बुढि औंलाको भागले हिँडेर सबैभन्दा छिटो १२.६७ सेकेन्डमा १० मिटर हिँडेर कीर्तिमान बनाए । त्यस्तै उनले मस्ट पेन्सिल स्नेप उईथ कराँते चोप इन वान मिनेट र ३० सेकेण्डमा पनि रेकर्ड बनाएका छन् ।

पछिल्लो समय उनले लामो समयसम्म उल्टो पैतालाले टेकेर उभिने रेकर्ड बनाउँदै अर्को रेकर्ड प्रमाणिकरणका लागि प्रक्रियामा रहेको समेत बताउँछन् । उनका अहिलेसम्म ५ वटा रेकर्ड प्रमाणीकरण भइसकेको छ र ३ वटा प्रक्रियामा रहेको उनले जनाए । साथै उनले अब नवौं रेकर्डका लागि अभ्यास गरिरहेको पनि खुलाए ।

एकपछि अर्को रेकर्डको भोका रहेका नारायण आगामी दिनमा कार्यस्थलमा र आम समाजका युवा तथा बिरामीहरुका प्रेरणाका स्रोत बनिरहेका छन् । सपना देख्नुपर्छ पूरा हुन्छ भन्ने भनाईलाई आत्मसाथ गर्दै अगाडि बढीरहेका दृढ विश्वास र मेहेनतलाई निरन्तरता दिएर दिवंगत बुवाप्रति सच्चा श्रद्धासुमन अर्पण गर्दै आमा देवीको मुहार चम्काउँदै देशलाई विश्वमा चिनाउनका लागि हरदम प्रयत्नशील नारायणलाई हाम्रो पनि शुभकामना ।