

प्रहरी जवान विनोद, जो अब कहिल्यै दौडिने छैनन्…

काठमाडौं । राष्ट्र सेवक बनेर मुलुकका साथै परिवारको गुजारा गर्छु भन्ने प्रतिबद्धतासहित नेपाल प्रहरीबाट सेवा सुरु गरेका विनोद ऐडीले कर्तव्य निर्वाह गर्दागर्दै ज्यान गुमाउन पुगेका छन्, त्यो पनि अर्काको गल्तीबाट ।
सधैं झैं बुधबार बिहान पनि बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत डडेलधुरा जिल्लाको आलिताल गाउँपालिका वडा नं. ६ का विनोद नियमित व्यायामका लागि दौडिरहेका थिए । गणभित्र शारिरीक अभ्यासपछि नियमित व्यायाम पूर्वपश्चिम सडकमा हुइँकिँदै आएको एउटा मोटरसाइकलले दौडिरहेका विनोदलाई ठक्कर दियो ।
मोटरसाइकलले उनीमात्र होइन उनीसँगै दौडिरहेका नवराज कार्की र विजय खत्रीलाई पनि ठक्कर दियो । तर उनीहरुलाई सामान्य चोटपटक मात्र लाग्यो भने विनोद भने तत्कालै सडकमै लडे । त्यसपछि तत्कालै उपचारका लागि हेटौंडा अस्पतालमा लगिएका विनोदले उपचारको क्रममा ज्यान गुमाए भने अन्य दुई जना साधारण उपचारपछि गण फर्किए ।
दुर्गम ठाउँमा जन्मिएका शान्त स्वभावका विनोदले परिवार पाल्नकै लागि र सुखद भविष्यको कल्पना गर्दै जागिर खाएका थिए, उनको निधनसँगै आलिताल गाउँ शोकमग्न बनेको छ । गणमा सधैंसँगै दौडिने, ड्युटी गर्ने साथीहरुले एउटा असल साथी गुमाएका छन् ।
पोष्टमार्टमपछि उनको शव डडेलधुरा पठाईने पनि जनाइएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११ थानाभ्याङमा बिहान हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेका कमल लामाले चलाएको ना४३प २२२ नं को मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवान एडी गम्भीर घाइते बनेका थिए । चालक लामा पनि गम्भीर घाइते रहेको बताइएको छ । भने उनको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।