

गैंडाकोट हाफ म्याराथनको उपाधि पुरूषतर्फ सेनाका रोकाया र महिलातर्फ सशस्त्रकी चौधरीलाई

नवलपुर । गैँडाकोट हाफ म्याराथनको उपाधि नेपाली सेनाका धावक राजन रोकायाले जितेका छन् । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा आयोजना गरिएको हाफ म्याराथनको २१ किलोमिटर दूरी उनले एक घण्टा तीन मिनेट पाँच सेकेण्डमा पूरा गर्दै उपाधि जिते । विजेता रोकायाले नगद रु एक लाखसहित मेडल र प्रमाणपत्र प्रदान गरियो ।
गैँडाकोटको विजय फाउण्डेशनले आज आयोजना गरेको प्रतियोगितामा नेपाली सेनाकै धावक नरेन्द्र सिंह रावत दोस्रो भए । रावतले निर्धारित दूरी एक घण्टा तीन मिनेट ३० सेकेण्डमा पूरा गर्दै रु ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा निर्धारित दूरी एक घण्टा पाँच मिनेट ५२ सेकण्डमा पूरा गर्दै काठमाडौँ धापासीका अजितकुमार यादव तेस्रो भए । यादवले रु २५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
त्यस्तै महिलातर्फ हाफ म्याराथनमा सशस्त्र प्रहरी बलकी सीमा चौधरी पहिलो भएकी छिन् । निर्धारित दूरी एक घण्टा २७ मिनेट १४ सेकेण्डमा पूरा गर्दै महिलातर्फ पहिलो भएकी चौधरीले रु २५ हजार नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेकी थिइन् । हाफ म्याराथनमा सहभागीमध्ये उत्कृष्ट हुने (एक घण्टा १३ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्ने) थप सात जनालाई समेत नगद रु पाँच हजारसहित पुरस्कृत गरिएको थियो । प्रतियोगितामा दुई सय ५० जनाले सहभागिता जनाएका थिए ।