

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा भूकम्प प्रभावितलाई राहत सामाग्री

सुर्खेत । सशस्त्र प्रहरी परिवार महिला संघले भूकम्प प्रभावित परिवारहरुको लागि राहत सामाग्री प्रदान गरेको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री माननीय कृष्णबहादुर जि.सी.लाई संघकी अध्यक्ष अनिता लामिछाने अर्यालले मंसिर १३ गते राहत सामाग्री हस्तान्तरण गरिन् ।
अध्यक्ष लामिछाने अर्यालले गत कार्तिक १७ गते राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ स्थित रामीडाँडा केन्द्रविन्दु बनाई गएको भुकम्पबाट प्रभावित परिवारहरुलाई म्याट्रेस, सिरक डसना, लत्ताकपडाहरु लगायतका राहत सामाग्री हस्तान्तरण गरेकी हुन् ।
सशस्त्र प्रहरी परिवार महिला संघको आयोजना र सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको समन्वयमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, नं. ६ बाहिनी मुख्यालयका बाहिनीपति प्रदिपकुमार पाल, प्रदेशस्थित सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी अधिकृत एवं विल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।