

सशस्त्रद्वारा स्रोत नखुलेको ८ लाखसहित सिराहाबाट एक जना पक्राउ

सिराहा । सिरहामा स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाकै बरियारपट्टी गाउँपालिका–२, श्रीपुरका ४२ वर्षीय महोमद फिरोज छन् ।
सशस्त्र प्रहरीले बरियारपट्टी–३, चमारटोलस्थित नेपाल–भारत सीमा इलाकाबाट शनिबार (हिजो) उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
उनी भारतबाट साइकलमा नेपालतर्फ आउँदै थिए । गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा एक हजार रुपैयाँ दरका ४९६, ५०० दरका ६०३ र १०० दरका २५ नेपाली नोट फेला परेको थियो ।
उनले सो रकमको स्रोत खुलाउन नसेकपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रकम र साइकलसहित आवश्यक कारबाहीका निम्ति भन्सार कार्यालय मार्डरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।