७ एसपीमा बढुवाका लागि यी हुन् शीर्ष बरियतामा रहेका डीएसपीहरू, कसले मार्ला बाजी ?



काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ । यही कात्तिक २४ गते ५ जना एसपीहरु एसएसपीका लागि बढुवा सिफारिस भएपछि रिक्त एसपी पदका लागि डिएसपीबाट बढुवाको तयारी गरिएको हो । त्यसबाहेक नेपाल प्रहरीमा अन्य २ गरी जम्मा ७ एसपी खाली रहेको छ ।

प्रधान कार्यालयले बढुवाको तयारी गरेको रिक्त रहेको ७ पदका लागि १२ डिएसपी प्रतिस्पर्धामा रहेका छन् ।

यसअघि गृहमन्त्रालयले बरियताको हिसाबमा बढुवा गरेकोले डिएसपी बढुवामा पनि त्यसले निरन्तरता पाउने अपेक्षा गरिएको छ । तर कतिपय शक्तिशाली डिएसपीहरु बरियतामा नरहेकोले गृहमन्त्रालयको बरियताको मापदण्ड भंग हुनसक्ने सम्भावना पनि देखिएको छ ।

बरियताको पहिला नम्बरमा डिएसपी प्रदीप बहादुर क्षेत्री रहेका छन् भने दोस्रो नम्बरमा अंगुर जिसी रहेका छन् । त्यस्तै तेस्रोमा ढकेन्द्र खतिवडा रहँदा चौथोमा यादव ढकाल रहेका छन् । त्यस्तै पाँचौं, छैटौं र सातौंमा क्रमशः श्यामबाबु ओलिया, नारायण रञ्जीतकार र निरन्जनदत्त भट्ट रहेका छन् ।

अहिले बरियतामा पछाडि रहे पनि कतिपय डिएसपीहरु एसपी बढुवाका आकांक्षी देखिएका छन् । संगठनमा राजन लिम्बु,  सन्तोष तामाङ, एकनारायण कोइराला,  अनन्तराम शर्मा र विनोद घिमिरे शक्तिशाली डिएसपी मानिन्छन् । उनीहरुमध्ये घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहालका पिएसओ बसेका थिए भने लिम्बु र तामाङ केपी ओली प्रधानमन्त्री रहँदा पिएसओ रहेका थिए । लिम्बु तत्कालिन सभामुख स्व. सुवासचन्द्र नेम्बाङ सभामुख रहँदा उनका समेत पिएसओ थिए ।

योग्यता क्रममा अगाडि रहेका प्रहरी अधिकृतका साथै केही उच्च अधिकृत पनि मापदण्डअनुसार नै बढुवा गर्नुपर्ने जनाएका छन् भने बरियतामा नपरेका आकांक्षीहरुले कार्यक्षमतालाई आधार बनाउनुपर्नेमा लबिङ गरिरहेको जनाइएको छ । -अनलाइनन्यूज७