सशस्त्र इन्स्पेक्टर सि.सं. १५ ब्याच पासआउट, रोशन उत्कृष्ट प्रशिक्षार्थी बन्दा अरु विधामा को–को भए उत्कृष्ट ?



काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भएको छ ।

दीक्षान्त समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री दाहालको सम्मानमा प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा सलामी अर्पण गर्नुका साथै कवाजसमेत प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरेलाई खुकुरी प्रदान गर्नुकासाथै कवाज, शारीरिक सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गरे । तालिममा कवाजतर्फ सशस्त्र प्रहरी निरीक्षक ज्ञानचन्द्र पराजुली, शारिरीक सहिष्णुतातर्फ सशस्त्र प्रहरी निरीक्षक पुष्कर बहादुर बम र चाँदमारीतर्फ सशस्त्र प्रहरी निरीक्षक एजन खड्का उत्कृष्ट भएका छन् ।

उनले राष्ट्रप्रेमी जनताको सुरक्षामा महत्वपूर्ण इतिहास बोकेको पवित्र संगठनमा आवद्ध भई अधिकृत तहको कठिनपूर्ण तालिम समापन गरेकोमा प्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक बधाई दिँदै राज्यले सुम्पेको जिम्मेवारीलाई उच्च व्यावसायिकतासाथ अनुशासित र इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिए ।

उनले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गर्दै आएको जिम्मेवारीलाई थप विशिष्टीकृत र प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिबृद्धि, साधनश्रोतको उपलब्धता, सुदृढ संगठन प्रणाली र व्यवस्थापन महत्वूपर्ण पक्ष भएको बताउँदै संगठनलाई आधुनीकरण र व्यवसायिक सुरक्षा निकायका रुपमा थप विकसित गर्ने कार्यमा नेपाल सरकार सदैव सकारात्मक रहेको बताए ।

तालिम समापन पश्चात दीक्षित भई कार्यक्षेत्रमा जान लागेका अधिकृतहरुप्रति राज्यले ठूलो आशा र भरोसा राखेको हुँदा जिम्मेवारीका क्षेत्रहरुमा परिचालित हुँदा कुनै प्रकारको डरत्रास, लोभ तथा प्रलोभन र गैह्र व्यावसायिक क्रियाकलापमा नपरी तालिममा सिकेको सैद्धान्तिक एवं व्यवहारिक ज्ञानलाई जनताको सेवा तथा सुरक्षामा इमान्दारितापूर्वक लागु गर्न निर्देशन समेत दिए ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्राप्त भएको निर्देशन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु मार्फत कर्तव्यनिष्ठ भई अक्षरश पालना गरिने बताउँदै प्रधानमन्त्रीको उपस्थिति तथा निर्देशनले सम्पूर्ण सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको हौसला र मनोवल उच्च भएको बताए । अर्यालले देश र जनताको सेवा, सुरक्षामा कटिवद्ध भई लाग्ने अभिप्रायले संगठनमा प्रवेश गरी दीक्षित भई कार्यक्षेत्रमा जान लाग्नुभएका अधिकृतहरुलाई हार्दिक बधाई दिँदै तालिममा हासिल गरेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञानलाई पेशागत जीवनमा अक्षरस पालना गरी कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।

महानिरीक्षक अर्यालले राज्यप्रदत्त विविध जिम्मेवारीका क्षेत्रहरु विशेषतः सीमा सुरक्षा, देशको आन्तरिक सुरक्षा तथा राजश्व संकलन र विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका लगायत विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, औद्योगिक र रेलवे सुरक्षामा समेत उत्कृष्ट ढंगले कार्यसम्पादन गर्दै आईरहेको उल्लेख गरे । समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले दीक्षान्त समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई सपथ ग्रहण गराएका थिए ।

करीव ५६ हप्ता अवधिको उक्त आधारभूत तालिम ५ जना महिलासहित कुल ४९ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।