

लहान मेयर चौधरीको पहलः गाउँब्लक जग्गाको लालपूर्जा वितरण हुने

काठमाडौैं । मुलुकको सबैभन्दा ठूलो नगरपालिकाको नेतृत्व लिइरहेका लहान नगरपालिकाका मेयर महेश चौधरीले लहानको जग्गा फुकुवाका लागि पहल गरेका छन् ।
लहान नगरपालिकाको गाउँब्लक र बालबिटौरी जग्गा फुकुवाका लागि संघीय सरकारअन्तर्गतको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय पुगेका मेयर चौधरीको पहलबाट केहि दिनभित्र फुकुवा हुने जनाइएको छ ।
मेयर चौधरीले मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, मन्त्रालयका भूमिसम्बन्धी पदाधिकारीहरुसँगको छलफलपछि जग्गा फुकुवाका लागि मन्त्रालयबाट प्रतिबद्धता पाएको उल्लेख गरेका छन् ।
उक्त अवसरमा लहान नगरपालिकाको तर्फबाट मेयर चौधरीसहित उपप्रमुख रामचलित्तर महतो, वडा अध्यक्षहरु सम्मिलित नगरपालिकाको टोली दुई पक्षबीच गाउँब्लक र बालबिटौरी जग्गाको फुकुवाको सवालमा छलफल भएको जनाइइको छ । ‘अब केही दिनभित्रै गाउँब्लक जग्गा फुकुवा भई लालपुर्जा वितरण हुने सचिवज्यूबाट प्रतिबद्धता आएको छ अब पक्कै त्यहाँका जनताले लालपूर्जा पाउँछन्,’ मेयर चौधरीले भने ।